इटहरी : धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक अधिकतम ४८ जनाको मात्र कोरोना परीक्षण हुन थालेपछि विराटनगरमा आजदेखि कोरोना भाइरस सङ्क्रमणको परीक्षण सुरु भएको छ ।

विराटनगरको कोसी अस्पतालमा भएको ल्याबको क्षमता विस्तार गरेर प्रदेश सरकारले दैनिक १०० जनाको कोरोना परीक्षण गर्ने भएको हो ।

अस्पतालमा कोरोना परीक्षणका लागि आवश्यक तयारी सकिएकाले शुक्रवार साँझबाट परीक्षण सुरु गरिने कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सङ्गीता मिश्राले बताइन ।

कोरोना परीक्षण ल्याबको शुक्रवार दिउसो मुख्यमन्त्री शेरधन राईले अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश एकमा कोरोना परिक्षण थप प्रभाबकारी हुने बताए ।

विपीमा सुरुमा एक दिनमा १२ परीक्षण भएको थियो भने पछि क्षमता वृद्धि गरिएको थियो ।