धरान : धरानमा लकडाउन उल्लंघन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर बिभिन्न स्कुलका चौरहरुमा राख्न थालेको छ ।

बिहान र बेलुकाको समयमा लकडाउनको उल्लंघन बढी भएपछी प्रहरीले सामुहिक सचेतना दिन नियन्त्रणमा लिएर खुला चौरमा राख्न थालेको हो ।

धरानका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर पब्लिक हाईस्कुलको खेलमैदानमा पुर्याइएका सर्वसाधरणहरुलाई दुई घण्टा खेलमैदानमा राखेर कोरोना भाइरस सम्बन्धी जानकारी दिएर साँझ ७ बजे पछि छाडेको छ । प्रहरीले नियन्त्रणमा लिईएकाहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीले कोरोना भाइरसको जोखिम र यसबारेमा जानकारी दिएका थिए ।

लकडाउन उल्लंघन गर्ने सर्वसाधरणलाई घर जान दिईए पनि प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन भने लकडाउन पछि मात्रै फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

कोरोना भाइरसको जोखिमका कारण नेपाल सरकारले गएको चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको हो । लकडाउनमा सार्वजानिक स्थल, र भिडभाडमा हिड्न पाईदैन । लकडाउनको बेलामा सवारी साधन पनि चलाउन पाईदैन । अत्यावश्यक काम पर्दा प्रहरीलाई खबर गरेर मात्रै बाहिर निस्कनुपर्नेमा धरानका विभिन्न स्थानमा विहान मर्निङवाक र साँझ इभिनिङ वाक संगै बजार क्षेत्र र धरान आसपासका क्षेत्रमा व्यापक लकडाउन उल्लंघन भएपछि धरान प्रहरीले कडाइ थालेको प्रहरीले बताएको छ ।

अब लकडाउन उल्लंघन गरे हरेक दिन नियन्त्रणमा लिएर पब्लिक स्कुलको खेलमैदानमा राखिनेछ । लकडाउनमा सवारी साधन चलाईएको पाईएमा प्रहरीले नियन्त्रणमा लिएको खण्डमा लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिईने पनि डिएसपी न्यौपानेले बताए ।

शनिबार देखि लकडाउन उल्लंघन भएका क्षेत्रहरुमा ब्यापक प्रहरी परिचालन गर्ने लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने प्रहरीले बताएको छ ।

 

lockdown-Panishment-1