विराटनगर : प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ ।

शुक्रवार बसेको प्रदेश क्राइशिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाई दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरूलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो ।

बैठकले कोसी कोरोना विशेष अस्पतालबाट कोरोना परीक्षणका लागि ल्याइएका ५ हजार र्यापिड टेस्ट किटबाट पहिलो चरणमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका शङ्कास्पद व्यक्तिहरूको परीक्षण गर्ने निर्णय गरेको छ ।

साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शङ्कर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्स्पर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पङ्कज खतिवडा, डा. शैलेशमणी पोखरेल, डा. सूर्य पराजुली, डा मोहन खड्का, डा प्रेम प्रसाद आचार्य, र डा सुरेश मेहता रहेका छन् ।