धरान : लकडाउनको बेलामा राहत वितरणमा अत्यन्तै भिडभाड र खुल्ला सिमानाका कारण प्रदेश एक कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै मुख्यमन्त्री सेरधन राईले सुरक्षा प्रमुखहरुलाई सिमामा कडाई र भिड हटाउन निर्देशन दिएका छन् ।

शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिएका हुन् ।

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् । त्यस्तै मानिसलाई आवत जावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन समेत गरेका छन् ।

संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताए । यसका लागि तयारी गर्न समेत सबै सुरक्षा निकायलाई मुख्यमन्त्रीको निर्देशन छ ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताए ।

कोरोनाको र्‍यापिड टेस्ट सुरु, ३० हजारको र्‍यापिड टेस्ट हुने

शुक्रबारदेखि प्रदेशले र्‍यापिड टेस्ट सुरु गरकाले क्वारेन्टाइनमा बसेका सबैको स्वाव परीक्षण कोशी अस्पतालबाटै गरिने भएकाले अव क्वारेन्टाइनमा रहनेहरुको व्यवस्थापनमा पनि सहज हुने भएकाे छ ।

प्रदेशका २० देखि ३० हजारको स्वाब परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चुनौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताए ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आ आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ती व्यवस्था, राहत वितरण लागायतको अवस्थाका बारेमा जानकारी गराएका थिए ।