झापा : सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपालमापनि लक डाउन गरेको आज १९ औँ दिन पुगेको छ ।

सरकारले लकडाउन कडाइका साथ पालना गराउन पटक पटक विभिन्न उपायहरू अपनाउँदै आएपनि नागरिक स्तरबाटै त्यसको उल्लङ्घन भएपछि झापा प्रहरीले भने जिल्लाका मुख्य बजारमा फरक उपाय अपनाएको छ ।

झापा प्रहरीले त्यस्ता स्थानहरूमा बनाएको लकडाउन सेलमा अहिलेसम्म ३ सय ८ जना कारबाहीमा परेका छन् । साँझपख मानिसको चहलपहल बढेपछि प्रहरीले मुख्य बजारहरूमा लकडाउन सेल स्थापना गरेका हुन् ।

झापाको मुख्य व्यापारिक सहर बिर्तामोडबाट निर्माण सुरु भएको लकडाउन सेल यति बेला झापाको काँकडभिट्टा, दमक, धुलाबारी, झिलझिले, शनिश्चरे, चन्द्रगढी लगायतका स्थानमा तयार गरिएको छ । लकडाउन सेल तयार गरेपछि चहलपहल घट्दै गएको प्रहरीको भनाई छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण एवं नियन्त्रणको लागि सरकारले गरेको लकडाउन उल्लङ्घन गर्नेलाई सेलमा उभ्याउने गरिएको छ । सेलमा २ घण्टासम्म उभ्याउने गरिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

लकडाउन उल्लङ्घन गर्नेहरूलाई लकडाउन सेलमा सामाजिक दुरी कायम राखी बनाइएको गोलो घेराभित्र होल्ड गरी उभ्याई लकडाउनको अर्थ र नागरिकको दायित्व सम्बन्धमा सचेत एवं जानकारी गराउँदै आएको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

उपरीक्षक कोइरालाले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा अनावश्यक रूपमा हिँडडुल नगरी लकडाउनको कार्यान्वयनमा सहयोग गरी आफू एवं समाज सुरक्षित राख्ने कार्यमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।