झुम्का : थारु समुदायले परापुर्वकाल देखी मनाउँदै आइरहेको सिरुवा मेला यस वर्ष नलाग्ने भएको छ ।

विश्व भरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसकाे जोखिमका कारण थारु समुदायको धरोहरको रूपमा रहेका ग्रामथानहरूमा लाग्ने सिरुवा मेला यसवर्ष नलाग्ने भएकाे हाे  ।

सुनसरी, झापा, मोरङ, सप्तरी, उदयपुर, लगायत जिल्लाहरूमा लाग्ने सिरुवा मेला नलगाउन स्थानिय निकायहरूले  सूचना जारी गरेर अपिल गरी सकेका छन् ।
लक डाउनलाई पूर्ण रूपमा पालना गर्दै  कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन यस वर्षका सबै सिरुवा मेला नलाग्ने तर विधिवत् रूपमा भिडभाड नगरिकन पूजा अर्चना गर्न सक्ने थारु कल्याणकारीणी सभाका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिएका छन् ।

सुनसरीमा प्रख्यात सिरुवा मेलाहरू मध्ये पञ्चाइन, उब्धी, कचना इटहरी, डोरा, सिंगिया, जब्दी, डाकिन झुम्का, मधेशा, एकम्बा, जहदा, इनरुवा, कशंमरान, डुम्राहा, ढोक ,बक्लौरी, अन्रामन्ढ, नडाहा, शिकारी थान, सोनापुर, चनरमैन, खनार लगायत थारुको ग्रामथानहरूमामा वैशाख भरी धूमधाम साथ मेला लाग्ने गर्दछ ।

यी मध्ये वैशाख ८ गते सुनसरी जिल्लामा जब्दी महारानी मन्दिर पलकीमा भव्य रूपमा मेला लाग्ने गर्दथ्याे  ।
अन्य जिल्लामा सप्तरी, सिराहा, उदयपुर, रौतहट, बारा, पर्सा, धनुषा, चितवन, दाङ, कैलाली लगायत कञ्चनपुर जिल्लाहरूमा पनि सिरुवा मेलाहरू लाग्ने गर्दछ ।

साथै तराईमा वैशाख १ गते थारु समुदाय, मैथिली तथा मधेसी समुदायले भव्य रूपमा आ-आफ्नो तरिकाले जुडशितल पर्व पनि मनाउने गर्दछन ।