धरान : सप्तरीमा केही महिना अघि आयोजित मुस्लिम धर्मावलम्बीको इज्तेमा धार्मिक सभामा सहभागी  तीन जना भारतीयमा कोरोना सङ्क्रमण भएको पाइएको छ । 

सप्तरीमा सम्पन्न भएको इज्तेमा धार्मिक सभामा सहभागी हुन आएका उनीहरू त्यही बेलादेखि भारत फर्केका थिएनन् । मार्च ४ तारिकमा फर्किने ट्रेनको टिकेट भए पनि लकडाउनका कारण उनीहरू रोकिएका थिए । लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरूले १५ अप्रिलका लागि टिकट पनि काटिसकेको बताइएको छ ।

घर फर्कनुअघि एक पटक स्वास्थ्य जाँच गराउन उपयुक्त ठानेर उनीहरू आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताएको वीरगन्जका सञ्चारकर्मी नीरज पिठाकोटे ले जानकारी दिएका छन् । स्वास्थ्य जाँचको क्रममा उनीहरूको रिपोर्ट पोजेटिभ देखाएपछि अहिले वीरगन्जमा कोरोना सङ्क्रमणको सन्त्रास छाएको छ । उनीहरू बस्दै आएको छप्कैयालाई पूरा सिल गर्नुपर्ने माग वीरगञ्ज महानगरवासीले माग गरेका छन् ।

प्रहरीद्वारा छप्कैयाबाट २६ जना पक्राउ

वीरगञ्जका मस्जिदहरूमा बसिरहेको अवस्थामा प्रहरीले भारतका १९ मुस्लिम जमाती (धर्म प्रचारक) सहित थप २६ जनालाई निमन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ ।
प्रहरीले शनिवार साँझ नियन्त्रणमा लिएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती , वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जना छन् । उनीहरूलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिवार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुर स्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिई इरिक्सामा राखेर प्रहरीको स्कर्टिंगमा क्वारेन्टाइनमा पुर्‍याएको उनले बताइन् ।

भारतबाट आएका २४ जना सहित ३३ जनाको नमुना सङ्कलन गरी गत बिहीबार परीक्षणका लागि हेटौँडा प्रयोगशाला पठाइएको थियो । त्यस मध्ये तीन जनाको शुक्रवार आएको प्रारम्भिक रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो । त्यसको जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । तर, ७२ घण्टामा पनि नारायणी अस्पताले संक्रमतिको रिपोर्ट सार्वजनिक गरेको थिएन । हेटौँडामा भएको प्रयोगशाला परीक्षणमा नै सङ्क्रमण देखाएको र काठमाडौँमा समेत सङ्क्रमण पोजेटिभ देखाएपछि सञ्चार माध्यमहरूमा समाचार सार्वजनिक गरिएको थियो ।

सङ्क्रमणको समाचार चारैतिर फैलिएको भए पनि नारायणी अस्पतालले भने आइतबार सम्म पनि आधिकारिक रिपोर्ट नआएको अस्पताले जनाएको छ ।

हेटौँडामा भएको प्रयोगशालामा पोजेटिभ देखिए लगत्तै वीरगन्ज २ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरूलाई शुक्रवारदेखि नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । सङ्क्रमण देखिएका उनीहरू १३ दिनदेखि वीरगञ्ज-२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।