पथरी : कैलाली जोशीपुरका हरिराम कुस्मी अहिले पथरीशनिश्चरे २ मा रहेको एउटा टहरामा १४ जना सहित वसिरहेका छन् । श्रमीकको रूपमा पथरीशनिश्चरेको २ नम्बर वडा कार्यालय निर्माण गर्न आएका उनीहरूलाई १९ दिन देखिको ‘लकडाउन’ले नराम्ररी पिरोलेको छ ।

देशमा कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न सरकारले गरेको घोषणा गरेको ‘लकडाउन’ का कारण उनी सहितका १४ जनालाई खाना खाने तनाव भएको छ भने खान पाउने घर सम्म पनि जान सक्ने अवस्था छैन ।

जोशीपुरकै जित बहादुर डगौराको समस्या पनि उस्तै छ । काम गर्न नपाएपछि दैनिक ज्यालादारी गर्ने हामीलाई समस्या परेको छ । अहिले सम्म त ठेकेदारले जेनतेन भात खुवाएको छ अव के गर्ने भन्ने समस्या थपिएको छ । डगौराले श्रम गरेर पठाएको पैसाले उनको घर चल्दै आएको छ ।

पर्शुराम निर्माण सेवाले ठेक्का पाएको सो भवन निर्माण गर्न उनीहरू माघको अन्तिम समय देखि पूर्वी मोरङमा कार्यरत रहेका छन् । उनीहरूको दुखेसो छ घरका बारेमा फोन वाटै जानकारी लिएर बस्नु परेको छ । सरकारले घरमै बस्न आग्रह गर्दै ‘लकडाउन’गरे पछि उनीहरूको काम समेत रोकिएको छ ।

‘घर जान पनि पाइएन काम नगरेपछि ज्याला पाउने पनि कुरो भएन’ डगौराले भने ‘अव घर कसरी चलाउने त्यो चिन्ता थपिएको छ’। डगौराले ५ जनाको परिवार दैनिक ज्यालादारी गरेर चलाउँदै आएका छन् । घरमा भएकाको खाद्यान्न जोहो पनि उनले गर्ने दैनिक ज्यालादारीले नै गर्दै आएका छन् ।

अहिले सम्म निर्माण सेवाका ठेकेदारले चामल त जोहो गरिदिएका छन् तर तरकारी किन्ने पैसा नहुँदा केहिदिन अघिसम्म उनीहरूले स्थानीयको मकै गोड्ने देखी मुसुरो उखेल्ने सम्मका काम गर्दै आएका थिए ।

स्थानीयवासीले कृषिका काम गरे तरकारी जोहो गरिदिने भए सँगै उनीहरू यसरी काम गर्न थालेका थिए । तर अहिले कृषिको काम पनि सक्किन थालेपछि अब त तरकारी नै खान समेत हम्मे पर्दै गएको उनीहरू बताउँछन् ।

पर्शुराम निर्माण सेवा केदार थापाका अनुसार श्रमिकका लाई काम मात्र नभएर पैसा पनि दिन सकिएको छैन ।

‘गोजीमा पैसा छैन, बैङ्कहरू पनि खुल्ला छैन , लक डाउनले गर्दा अहिले कतैबाट पनि केही ल्याउने, कहीँ जाने कुनै अवस्था छैन कसरी पैसा दिने ?’ थापाले भने ‘यही वरिपरिका गाँउलेसंग चामल, दाल, गुन्द्रुक मागेर काम चलाउँदै छौँ’ ।

पर्शुराम निर्माण सेवाले वडा नं २, ३, ७, ८ र ९ को वडा कार्यालय भवन बनाउने जिम्मा पाएको छ । सोही भवन बनाउन विभिन्न ठाउँबाट ल्याइएका श्रमिकहरूलाई दुई छाक खानै अप्ठ्यारो पर्दै गएको छ ।