इटहरी : प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणको लागि घोषणा भएको लकडाउनको क्रममा प्रभावित मजदुरलाई राहत दिन स्थानीय तहलाई रकम अनुदान दिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नयाँ बर्ष २०७७ को अवसरमा प्रदेशबासीको नाममा गरेको सम्बोधनमा स्थानीय तहलाई ९ करोड ५० लाख राहात अनुदान दिने घोषणा गरेका हुन् ।

नयाँ वर्षको अवसर पार्दै मुख्यमन्त्री राईले कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचारका लागि अहिलेसम्म प्रदेश सरकारले गरेका प्रयास, आगामी योजना र राहतबारे प्रदेशका जनतालाई सम्बोधन गरेका हुन् ।

राईले सम्बोधन गर्दै कोरोना सँग लड्न प्रदेश १ का  महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकाहरुलाई १० लाख र गाउँपालिकालाई ५ लाख गरी एकमुष्ट ९ करोड ५० लाख रुपैयाँ बजेट प्रदेश १ सरकारले व्यवस्था गरेको बताए ।

मुख्यमन्त्री राईको सम्बोधनको अंश

स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियण्त्रण र उपचार संगसंगै मुख्य रुपमा राहत वितरणका लागि महानगरपालिकालाई २० लाख रुपैयाँ, उपमहानगरपालिकाहरुलाई १५ लाख रुपैयाँ, नगरपालिकाहरुलाई १० लाख र गाउँपालिकालाई ५ लाख गरी एकमुष्ट ९ करोड ५० लाख रुपैयाँ बजेट पठाउने व्यवस्था मिलाएको कुरा यसै संबोधन मार्फत अवगत गराउन चाहन्छु ।

त्यसै गरी जिल्लामा कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियण्त्रण र उपचार कार्यमा स्थानीय पालिकाहरु र स्थानीय प्रशासन संगको समन्वय र प्रभावकारी अनुगमन लगायतको भूमिकाको निम्ती प्रदेशका १४ वटै जिल्ला समन्वय समितिहरुलाई ५-५ लाखका दरले रु ७० लाख रुपैयाँ रकम पठाउने समेत ब्यवस्था मिलाइएको छ । यस भन्दा अगाडि प्रदेशका सबै सरकारी अस्पतालहरुलाई समेत ३ करोड रुपैयाँ बजेट निकासा गरिसकिएको जानकारी समेत गराउन चाहन्छु ।