धरान : बराह ग्रुपले धरान उपमहानगर र नेपाल सरकारको कोरोना रोग सङ्क्रमण रोकथाम नियन्त्रण कोषमा जम्मा उन्नाइस लाख रुपैयाँ सहयोग गरेको छ ।

बराह ग्रुपले हाल कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै आफ्ना २५ ओटा भागिनी संस्थाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट सो रकम हस्तान्तरण गरेको हो ।

स्थानीय सरकार अन्तर्गत धरान उपमहानगरपालिका कोरोना राहत कोषमा सात लाख साठी हजार रुपैयाँ र नेपाल सरकार अन्तर्गत कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एघार लाख चालिस हजार रुपैयाँ जम्मा गरेको बराह ग्रुपले जनाएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उप प्रमुख मञ्जु भण्डारीलाई बराह ग्रुपका प्रमुख शिव कुमार लामिछानेले सहयोग बापतको चेक हस्तान्तरण गरेका हुन् ।

मेयर राईले बराह ग्रुपलाई स्थानीय सरकार र नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । ग्रुपका प्रमुख शिव कुमार लामिछाने विश्वकर्माले आगामी दिनमा समेत सङ्क्रमण को अवस्थालाई मध्यनजर गर्दै सरकारलाई सहयोग थप गर्ने बताएका छन् ।

बराहले लकडाउनको समय पनि ग्राहकहरूलाई हट लाइन नम्बर मार्फत होम डेलिभरी सेवा प्रदान गरिरहेको छ ।

Baraha-Donation-Cheque