इटहरी : दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । थाहाखबरका अनुसार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजेटिभ देखिएको हो ।

गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासलाई उदृत गर्दै सातजनाको आरडीटी टेष्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजिटिभ आएको बताएको छ।

सातैजनाको थ्रोट स्वाब लिएर पीसीआर टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए । कोरोना पोजेटिभ देखिएका दुवैलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको उनले बताए ।

गत मार्च ८ र ९ तारिखमा नयाँ दिल्लीको निजामुदिन मस्जितमा आयोजित मर्कज भनिने धार्मिक मेलामा भाग लिएर उनीहरु जमातीका रुपमा सप्तरी आइपुगेका थिए । स्थानीय प्रशासनका अनुसार दिल्लीबाट फर्किएदेखि उनीहरु घरमा नै थिए ।