पथरी : सरकारले गरेको ‘लकडाउन’का कारण खाद्यान्न समस्यामा परेका पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिवीरका सय घर परिवारलाई शैक्षिक अभियान समुहले खाद्यान्न सहयाेग गरेको छ ।

भुटानी शरणार्थी शिवीरमा रहेका सय घर परिवारकालाई चामल,तेल,नुन,सावुन, सोयाविन र मास्क वितरण गरिएको हो । अभियानका अभियान्ता मैया रार्ईले आफ्ना स्वर्गिय बुवा ठङ्गा बहादुर राईको स्मृतीमा १ लाख १५ हजार रुपैयाँ अभियान समुहलाई उपलव्ध गराएपछि शिविर भित्रका अति निम्न परिवारलाई सो रकम बराबरकाे खाद्यान्न लगायतका सामाग्री उपलव्ध गराइएको अभियानका संयोजक प्रदिप कुमार राईले जानकारी दिए ।

शैक्षिक अभियान समुहले शरणार्थी शिवीरका सचिव चम्पासिंह राईको समन्वयमा शिविर भित्रका अपाङ्ग,असक्त,एकल सदस्य रहेका,आइ ओम एमबाट विदेश नगएका परिवारको तथ्याङ्क संकलन गरेर राहत वितरण गरेको हो ।

राहत वितरण कार्य विभिन्न पालिकाहरुले गरिरहेको बेला दुई दशक अघि बाट पथरीशनिश्चरे १० मा बसोबास गरिरहेको भुटानी शरणार्थीलाई भने कसैले राहत पुर्रयाएका थिएनन् । राहत नपाएका उनीहरु ‘लकडाउन’कै कारण श्रम गर्न नपाउदा समस्यामा परेका थिए ।

भुटानी शरणार्थीलाई लकडाउनले पारेको समस्यका विषयमा कपुरी न्युज डटकममा समाचार समेत प्रकाशित भएको थियो । कपुरी न्युजमा समाचार प्रकाशित भएपछि शरणार्थी शिवीरका शरणार्थीलाई राहत वितरणका लागी  विभिन्न सामाजिक संस्थाले चासो देखाएका थिए ।

शैक्षिक अभियान समुहले पथरीशनिश्चरे भित्रका विभिन्न विद्यालयमा शैक्षीक विकासका लागी विभिन्न कार्यक्रम गर्दै आएको छ ।