धरान : धरान १३ मा रहेको कृषि उपज बजार स्थल एक साताको लागि बन्द गर्ने निर्णय भएको छ ।

धरान नगर स्तरीय तरकारी आपुर्ति उपसमितिको आज बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । कृषि उपज बजार स्थलमा तरकारीसंगै भारतीय नागरिकहरु पनि बढेकोले कोरोनाको उच्च जोखिम कृषि उपज बजार स्थल बनेको भन्दै एक सातालाई कृषि उपज बजार स्थल बन्द गर्ने निर्णय गरिएको कृषि उपज बजार स्थलका पदेन सदस्य तथा १३ नम्वर वडाका अध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।

भोली बुधबार बिहान ९ बजे सम्ममा कृषि बजार आईपुगेको तरकारी विक्रि वितरणका लागि दिईने र अर्काे निर्णय नुहन्जेल सम्मका लागि कृषि बजार बन्द गरिने निर्णय भएको कृषि उपज बजार स्थलका ब्यावस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

कृषि उपज बजार स्थलमा भारतबाट तरकारी आयत हुने भएको र भारतीय तरकारी व्यापारी पनि आउने भएकोले कृषि बजार कोरोना भाइरसको उच्च जोखिममा भएको भन्दै  एक सातालाई बन्द गर्ने निर्णय गरिएको बताईएको छ ।

सोमबार भारतबाट आएका तरकारी व्यापारीलाई कोरोना आशंका गरी खोजी गरेर बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर उनको स्वास्थ्य परिक्षण गरिएको र उनीसंगै आएका अरु तीन जना पनि भारतीय नागरिक भएको भन्दै आज उनीहरुको खोजी भईरहेको १३ नम्वर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताएका छन् ।