उदयपुर : उदयपुरको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलका नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर २ मा तास खेलिरहेको भन्ने सूचना अनुसार ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले तास र नगद सहित पक्राउ गरेको हो ।

वडा नम्बर ३ का राम बहादुर माझीको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३७ बर्षीय दिपक माझी, २४ बर्षीय जस बहादुर माझी, ३० बर्षीय कर्साङ लामा र ३२ बर्षीय राजन माझीलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नगद ४ हजार २ सय २० रुपैयाँ र ३ बुङ तास समेत बरामद गरेको थियो । यसैगरी वडा नम्बर-२ का ३० बर्षीय सुर्य बहादुर बस्नेतको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३१ बर्षीय सम्राट राई, ५० बर्षीय सिताराम बस्नेत र बराहक्षेत्र नगरपालिका-९ का ४८ बर्षीय गणेश मगरलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ३ हजार २ सय ९५ रुपैयाँ नगद र १ बुङ तास बरामद भएको थियो ।