धरान : सप्तरीमा हिजो गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको १ नम्बर वडा र खडक नगरपालिकाको ११ नम्बर वडाका दुई जनामा हिजो र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर उनीहरूको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

उनीहरूको स्याम्पल परीक्षण गर्दा युहान स्पेसिफिक टेष्ट र अतिरिक्त परीक्षण गरिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माईक्रोवायोलोजि विभागले जनाएको छ ।

दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई प्रहरीले हिजो मङ्गलवार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर्र र्‍यापिड टेष्ट गराएको थियो । उनीहरूमध्ये दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

त्यस पछि सप्तरी प्रशासनले आज जिल्ला सुरक्षा समितिको बैठक बसेर खडक नगरपालिकाको वडा नम्बर ११ को जाजर गाउँ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको थियो ।

सिल गरिएको दुई वडाको बारेमा जिल्लामा छलफल गरी सहज तरिकाले के गर्दा हुन्छ भनेर निर्णय गरिने सप्तरीका एसपी कृष्ण प्रसाईँले जानकारी दिएका छन् ।

बुधबार सम्म प्रतिष्ठानमा २ सय ८२ जना स्वास्थ्य परीक्षण 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा बुधबार सम्ममा २ सय ८२ जना स्वास्थ्य परीक्षण गर्न आएका छन् । जसमध्ये ३७ जना सरकारी क्वारेनटाईनमा र २ सय २९ जना होम क्वारेनटाईमा रेफर गरिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिसिआर परीक्षणमा १ सय ९५ नमुना सङ्कलन भएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।