धरान : धरानमा लकडाउन उल्लङ्घन गर्ने २६ जनालाई आज बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सधैँ धरान १२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा लगेर २ घण्टा नियन्त्रणमा राख्दै आएकोमा आज देखि धरानको मुख्य चौक भानु चौकमै लकडाउन उल्लङ्घन गर्नेलाई २ घण्टा नियन्त्रण लिएर राख्न थालेको छ ।

धरान प्रहरीले जति नै लकडाउनलाई कडाइ पारे पनि सर्वसाधारणले प्रहरीलाई टेरेका छैनन् । बिहान मर्निङवाक गर्ने र साँझमा इभिनिङ वाक गर्नेहरूले धरानमा लकडाउन उल्लङ्घन गर्ने गरेका छन् ।

गएको शुक्रवार देखि धरान प्रहरीले धरानमा विशेष अभियान चलाए पनि अझै लकडाउन उल्लङ्घन गर्नेहरूको सङ्ख्यामा न्यूनीकरण खासै आएको देखिँदैन ।

साँझ र बिहान लकडाउन उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिएर २ घण्टा पछि प्रहरी छाड्दै आए पनि अझै धरानमा बिहान र बेलुका हिडनेहरुको सङ्ख्या घटेको छैन ।

अव देखि भने धरान प्रहरीले सार्वजनिक स्थलमै नियन्त्रणमा लिएर राख्न थालेको छ । आज बिहान नियन्त्रण गरिएकाहरूलाई कोरोना सम्बन्धी जानकारी दिएर दुई घण्टा पछि फेरी लकडाउनमा हिँडडुल नगर्ने सर्तमा छाडिने वडा प्रहरी कार्यालयका प्रमुख हेम लिङदेनले बताए ।