धरान : स्वास्थ्यकर्मी माथि प्रहरीले कुटपिट गरेको विषयमा धरान उपमहानगरपालिकामा भेला भएका उपमहानगर मातहतका स्वास्थ्यकर्मीहरु पुनः काममा फर्किएका छन् ।

बिहीबार बिहान विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्र प्रकाश खनाललाई पानबारी प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतले लकडाउन उल्लङ्घन गरेको भन्दै कुटपिट गरेको विषयमा छलफल गर्न धरान भरीका स्वास्थ्यकर्मीहरु धरान उपमहानगरपालिकामा आकस्मिक भेला भएका थिए । 

भेलामा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले लकडाउनको बेलामा स्वास्थ्यकर्मी माथि भएको यो घटनाको निन्दा गर्नुहुँदै प्रहरी प्रमुखसँग यस्तो नहुने सम्बन्धमा छलफल गर्ने भनेपछि स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् ।

धरानमा लकडाउन प्रभावकारी नभएको बताइरहँदा स्वास्थ्यकर्मी र प्रहरीले समन्वय गरेर आ आफ्नो कार्यक्षेत्रमा खटन मेयर तिलक राईले आग्रह गरे ।  भेलामा उपमेयर मञ्जु भण्डारी सुबेदीले स्वास्थ्यकर्मीले आफ्नो पहिचान झल्किने खालको पहिरन लगाउनुको साथै परिचय पत्र बोकेर हिडन आग्रह गरिन् ।

स्वास्थ्यकर्मी कुटपिटको विषयमा मेयर तिलक राई, धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, पीडित चन्द्र प्रकाश खनाल र इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ढुण्डिराज न्यौपाने बिच बसेर छलफल हुने बताइएको छ ।