धरान : राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले आज सातवटै प्रदेश सभाका उपसभामुखहरुसँग भर्चुअल संवाद गरेकी छिन् ।

सिंहदरवारस्थित संसद सचिवालयबाट गरेको कुराकानीमा प्रदेशसभाका उपसभामुखहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका कार्य, प्रदेश सभाको समन्वय र संघीय संसदमार्फत संघीय सरकारलाई सुझावहरु दिएका थिए ।

भिडियोमा संवादमा राष्ट्रियसभाका उपाध्यक्ष दाहाल, प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश नम्बर २ का उपसभामुख उपमाकुमारी देव, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले आ–आफ्नो धारणा राखेका थिए ।

यसअघि राष्टिय सभाका अध्यक्षले वैशाख १ गते राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतकसँगै विषयगत समितिका सभापतिहरुसँग छलफल गरेका थिए भने हिजो सातवटै प्रदेशका सभामुखसँग भिडियो संवाद गरेका थिए ।

छलफबाट प्राप्त सुझावलाई सरकार समक्ष प्रतिवेदनको रुपमा पेस गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।