झापा : पूर्व-पश्चिम लोकमार्ग अन्तर्गतको दमक नगरपालिकाको क्षेत्र भित्र पर्ने सडकखण्डमा रहेका सुकेका र मक्किएका रुखहरु कटान गर्न सुरु गरिएको छ ।

पूर्वको रतुवा खोला र पश्चिमको मावा खाोला बिचको सडकको उत्तर दक्षिण किनारामा रहेका २० वटा त्यस्ता प्रकृतीका रुखहरु आजबाट कटान गर्न सुरु गरिएको हो । दमक नगरपालिका वडा नम्बर ९ स्थित चियादोकान चोकबाट रुख कटान गर्न सुरु गरिएको हो ।

कटान गरिनुपर्ने रुखहरुमा १० वटा मसलाको रुख, ४ वटा टिक र ६ वटा सिसौ जातका रुखहरु रहेका छन् । डिभिजन वन कार्यालयबाट रुख कटानको अनुमति पाईसकेपनि सवारी आवागमन बाक्लो हुने गरेका कारण बिगतमा रुख कटान गर्न नसकिरहेको अवस्थामा यो लक डाउनको समयमा सडकमा सवारी साधनको चाप कम हुने भएकाले रुख कटान गर्न थालिएको दमकको यातायात तथा ट्राफिक ब्यबस्थापन समितिका संयोजक प्रजापति सापकोटाले जानकारी दिए ।

बिहिबारबाट सुरु गरिएको रुख कटानको अभियान केहि दिनमै सम्पन्न हुने सापकोटाको भनाइ छ । यस्तै रुख कटान पश्चात १ रुख बराबर २५ बिरुवाका दरले ३ फिट अग्ला कम्तीमा ५ सय बिरुवा बृक्षारोपण गरि सुनिश्चितता गराउनपनि डिभिजन वन कार्यालय झापाले दमक नगरपालिकालाई आग्रह गरेको छ ।