धरान : धरान उपमहानगरले लकडाउनको अवधिमा प्रदेश सरकारलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणमा गरेको काम र लकडाउनको बेलामा गरेका कामको प्रतिवेदन बुझाएको छ । उपमहानगरले लकडाउन अवधिभर कोरोना नियन्त्रण तथा राहत सँग सम्बन्धित विषयहरू समावेश गरेर प्रतिवेदन तयार पारेको थियो ।

बुधवार नै प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने भनिए पनि विराटनगरमा अत्यधिक वर्षा भएको कारण हिजोको कार्यक्रम स्थगित भएको थियो । आज धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री शेरधन राईलाई भेटेर प्रगति प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा कोरोना नियन्त्रण गर्न साथै लकडाउनलाई पालना गराउन तथा राहत वितरण, व्यवस्थापनमा उपमहानगरले गरेको पहल, कार्यहरूको यथार्थ विवरण उल्लेख गरिएको छन् । साथै, उपमहानगरले दोस्रो चरणको राहत वितरणको लागि ३ करोड बजेट आवश्यक भएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

धरान उपमहानगरले पहिलो चरणमा करिब एक करोड बराबरको राहत वितरण गरिसकेको छ । उपमहानगरका अनुसार पहिलो चरणमा खरिद गरेको खाद्यान्नको मध्ये ३९ लाख ९३ हजार २ सय ३० रुपैयाँ भुक्तानी गरिएको र २९ लाख ९७ हजार ९ सय ५३ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । दोस्रो चरणमा प्रति प्याकेज १५ सयको दरले राहत वितरण गर्ने उपमहानगरको योजना रहेको प्रतिवेदनमा उल्लेख छ ।