धरान : लकडाउनको बेलामा मुलुकभर रगत अभाव भइरहेको बेलामा सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार सम्पन्न रक्तदान कार्यक्रममा २ सय ६५ पिन्ट रगत सङ्कलन भएको छ ।

लकडाउनका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैकमा रगतको अभाव भएपछि बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । धरानका व्यवसायी, उद्योगी, विद्यार्थी, स्थानीय सघसस्थाका प्रतिनिधि र स्वयंसेवी गरी जम्मा २ सय ६५ पिन्ट रक्तदान भएको कार्यक्रमका संयोजक प्रभाव खतिवडाले बताए ।

सङ्घले केही दिन अघि स्वेच्छाले आफै ब्लडबैंकमा रक्तदान गर्नको लागि आव्हान समेत गरेको थियो । प्रतिष्ठानमा उपचाररत मिर्गौलाका रोगीहरू, प्रसूतिका बिरामीहरू र शल्यक्रियाको लागि अति आवश्यक भइरहँदा ब्लड बैङ्कमा रगतको अभाव भएको थियो । चैत्र ११ गतेदेखि लकडाउन भएपछि स्वास्थ्यका क्षेत्रमा सङ्घले आयोजना गरेको यो कार्यक्रम निकै नै उपलब्धि मूलक भएको कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।

२ वटा गाडी र १ वटा ट्याम्पोबाट रक्तदाताहरूलाई आउने जाने ब्यावस्था गरिएको सो कार्यक्रममा सामाजिक दुरी समेत कायम गरिएको थियो । कार्यक्रममा प्रहरी र धरान उपमहानगरपालिकाले समेत सहयोग गरेको थियो । कार्यक्रमबाट प्राप्त रगतले केही दिनको लागि ब्लड बैक सुचारु गर्न सहज हुने ब्लड बकका इन्चार्ज सुभाषचन्द्र सिंहले बताए ।