पथरी : आफूलाई भारतीय नागरिक बताउने ३ जना मध्ये २ जनालाई पथरीका स्थानीयवासीले बिहीबार नियन्त्रणमा लिई अस्पताल पठाएका छन् । मोरङको पथरीशनिश्चरे ८ सोमवारे बजारमा देखिएका ३ जना मध्ये २ जनालाई नियन्त्रणमा लिई स्वास्थ्यकर्मीको जिम्मा लगाइएको हो ।

भारतको गोपालगञ्ज घर बताउने मध्येका २ अस्पताल पठाइए पनि एक जना भने फरार रहेको छन् । स्थानीय युवाले बाटोमा हिँडिरहेका ती बटुवा बारे चासो राख्दा एक जनाले ज्वरो आएको र आफूहरू भारतबाट हालै मात्र नेपाल प्रवेश गरेको बताएका थिए ।

युवा सङ्घ पथरीशनिश्चरे सहसंयोजक नवीन कार्की लगायतका युवाले ती बटुवा बारे चासो राखेर तत्कालै शनिश्चरे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बोलाएका थिए ।

स्वास्थ्यकर्मी हरुले उनीहरूको तापक्रम जाँच गर्दा तापक्रम १ सय डिग्री फरेनहाइड भन्दा बढी भएको भन्दै तत्काल नै अस्पताल पठाउन आग्रह गरेका थिए । ३ जना मध्ये २ जना फरार भएकोमा २ घण्टा पछि स्थानीय युवाहरूले नै १ जनालाई पुन नियन्त्रणमा लिएका थिए ।

उनीहरूको शुक्रवार विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा टेस्ट गर्ने तयारी थालिएको छ । फरार रहेका एकको खोजी कार्य जारी रहेको कार्कीले जानकारी दिए ।