धरान : धरान प्रवेश गर्ने सबै नाकामा अब देखि ज्वरो नाप्ने थर्मल गन सहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरू ल्याइने हुँदा अन्य पालिकाहरू भन्दा अलि बढी कोरोना सङ्क्रमणको सम्भावना हुने हुँदा धरान प्रवेश गर्ने सबै नाकाहरूमा स्वास्थ्यकर्मी सहितको टोली खटाइने भएको हो ।

नाकामा स्वास्थ्यकर्मी खटाउने विषयमा धरान उपमहानगरपालिकाले सङ्घीय सङ्घीय सांसद, प्रदेशसभाका सभासद् सहितको आजको बैठकमा विषयमा छलफल भएको थियो । छलफलमा उपमहानगरले सो क्षेत्रका सङ्घीय तथा प्रदेश सभाका सांसदहरूलाई लकडाउन अवधिभरिको कामको विवरणको जानकारी गराएको थियो ।

धरान उपमहानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि गरिरहेको प्रयास, राहत वितरण तथा सङ्कलन, लकडाउन र सुरक्षा सेवाको बारेमा प्रदेश सरकारलाई बिहीबार प्रदेश सरकारलाई बुझाएकोमा शुक्रवार सोही जानकारी सांसदहरूलाई गराएको हो ।

धरानमा लकडाउनको समयमा पनि धरान बाहिरबाट मानिसहरूको आउजाउ हुने भएकोले धरान प्रवेश गर्ने नाकाहरूमा सुरक्षाकर्मीसंगै स्वास्थ्यकर्मी परिचालन गरी थर्मल गनले आउजाउ गर्ने मानिसहरूको परीक्षण गरेर मात्रै धरान प्रवेश गर्न दिने छलफलमा कुरा उठेको थियो ।

धरानमा थर्मल गन नभएकोले स्वास्थ्य मन्त्रालयबाट माग गर्ने र यदि त्यहाँबाट भएन भने खरिद नै गर्नुपर्ने पनि हुन सक्ने छलफल भएको सङ्घीय सांसद मीन विश्वकर्माले जानकारी दिएका छन् ।

छलफलमा लकडाउनको बेलामा अत्यावश्यक बस्तु खाद्यान्न, तरकारी र दूधको गाडीलाई निर्बाध हिड्न दिने, धरानमा भइरहेको राहत वितरणको पहिलो चरण सकिएको र अब दोस्रो चरणको राहतलाई कसरी व्यवस्थापन गर्ने ? राहतलाई सहज बनाउनका लागि धरान उपमहानगरपालिकामा आएको सामाजिक विकास सम्बन्धीको बजेटलाई रकमान्तर गर्ने र यदि यसो गर्दा पनि पुगेन भने प्रदेश सरकार र सङ्घीय सरकारसँग पनि सहयोग गर्ने छलफल भएको छ ।

धरानमा लकडाउनको बेलामा धरान उपमहानगरपालिका र प्रहरीबिचको समन्वयलाई अझ मजबुत बनाउनुपर्ने अवस्था देखिएकोले प्रमुख जिल्ला अधिकारी सहितको बैठक बस्ने पनि छलफल भएको छ ।

सभासद् मीन विश्वकर्माका अनुसार धरान उपमहानगरको २५ लाख राहत कोष सँगै विभिन्न सङ्घ संस्था, सर्वसाधरणहरुको नगद तथा जिन्सी सहयोगले अहिले सो कोषमा करिब ६० लाख पुगेको जनाउँदै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सबै सभासदहरुलाई विपतको बेलामा सहयोग गर्न आग्रह गरेका छन् ।

छलफलमा एक नम्बर प्रदेशका सभामुख प्रदीप भण्डारी, प्रदेश सभासदहरु भीम आचार्य, सावित्री श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, उमिता बराईली प्रतिनिधि सभा सदस्य मीन विश्वकर्मा, जयकुमार राई, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदीको सहभागिता रहेको थियो ।