जनकपुरधाम : जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् । जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुई महिलाले सडक र पसल छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

आज दिउँसो एक बजे तिर दुई जनाको समूहमा रहेको ती महिलाहरूले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीको भनाई छ । निलो र हरियो रङ्गको साडी लगाएकी उनीहरूले करिब सय मिटरको दुरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेको त्यहाँका स्थानीयवासीले बताए ।

सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि दुबै जना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयवासीले बताए । ‘निलो र हरियो रङ्गको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुई जना महिलाहरू पैसा फ्याल्दै हिँडेको हामीले देख्यौँ, पैसा किन फ्यालेको सोधेपछि दुबै जना कुदेर भागे,’ महावीर चौकका एक स्थानीयले भने ।

स्थानीयवासीको अनुसार तीनचारजना मानिसले उनीहरूले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् ।

त्रसित बनेका स्थानीयहरूले तत्काल प्रहरीलाई खबर समेत गरेका छन् । सडकमा फ्यालिएका रुपैयाँका केही नोटहरू प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानहरू सेनेटाइज गरेका छन् ।

सडकमा रुपैयाँ फ्याल्ने दुवै महिलाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा रुपैयाँ उठाउने व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले नजिकै रहेको एक घरमा सिसिटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।