धरान : काठमाडौँको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना सङ्क्रमित परिवार सँगै बेलायतबाट यात्रा गर्नेहरू मध्येका ९ जना सुनसरीको रहेको खुलेको छ ।

बेलायतबाट कतार एयरवेजको क्यु आर ६४४ फ्लाइटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये ९ जना सुनसरीका रहेको विवरण सुनसरी प्रहरीलाई आएपछि उनीहरूको खोजी गरिएको थियो । उनीहरू मध्ये ८ जनालाई प्रहरीले फेला पारिसकेको र एक जना फेला पार्न नसकेको सुनसरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले भने उनीहरूको कोरोना सङक्रमित बिरामीको ट्राभल हिस्ट्रीका आधारमा जिल्ला प्रहरी प्रहरी कार्यालय इनरुवाले खोजी सुरु गरेको थियो ।

क्यु आर ६४४ फ्लाइटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये इनरुवा, डुम्राहा, गौतमपुर, पश्चिम कुशाहा, रामगञ्ज वेलगछिया, सिगिया र इटहरी ठेगाना भएका सुनसरीका स्थानीयहरू रहेको प्रहरीले बताएको थियो ।

प्रहरी उपरीक्षक पोखरेलले उनीहरूको विवरण बुधवार साँझमा आएकाले सवैजनालाई ठेगानका आधारमा खोजी सुरु गरिएको थियो । ९ जना मध्ये ८ जना फेला परिसकेको र उनीहरू मध्ये भुटाहाको क्वारेनटाईनमा ४ जना, इटहरी क्वारेनटाईनमा १ जना, विराटनगरमा १ जना र २ जनालाई होम क्वारेनटाईनमा राखिएको बताइएको छ ।

एक जना भने अझै सम्पर्कमा आई नसकेको प्रहरीले बताएको छ । उनको खोजी जारी रहेको छ भने फेला परेका सबैको हिजो नै र्‍यापिड टेस्ट गरिएको र उनीहरूको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । रिपोर्ट नेगेटिभ आए पनि उनीहरूलाई १५ दिन सम्म क्वारेनटाईनमा नै बस्न भनिएको प्रहरीले बताएको छ ।