धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको मस्जिदमा १२ जना कोरोना सङ्क्रमित भेटिएपछि सुनसरीमा कर्फ्युको  हल्ला व्यापक चल्यो ।

सामाजिक सञ्जालहरूमा धेरैले शनिवार देखि सुनसरीमा कर्फ्युको घोषणा भएको उल्लेख गरे । तर वास्तविकता भने त्यस्तो होइन । सुनसरी जिल्लासँगै जोडिएको उदयपुर जिल्लामा धेरै मात्रमा कोरोना सङ्क्रमित भेटिनुले सुनसरी जिल्लामा पनि त्रास छाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञ विनोद पोख्रेलले भने, 'कर्फ्यु होइन लकडाउनलाई आज देखि कडा पारिनेछ' । जति नै लकडाउनको बेला कडा पारिएको भए पनि सर्वसाधारण लकडाउनको बेलामा पनि घर बाहिर निस्किने बढेको व्यापक जनगुनासो आएकोले आज देखि सुनसरी प्रहरीले लकडाउन कडा पार्ने भएको हो ।

धरान उपमहानगरपालिकाले धरान प्रवेश गर्ने पश्चिमी नाका धरान-चतरा सडक खण्ड पुरै सिल गरेको छ । आज देखि धरानको हकमा पनि लकडाउन कडा पारिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए । उनका अनुसार आज धरानका भाटभाटेनी, बराह लगायतका डिपार्टमेन्ट पनि ११ बजे सम्म सेवा नदिन भनिएको र पश्चिमी नाका हुँदै आउने कुनै पनि दूध बोकेका सवारी साधन र मानिस प्रवेशमा पुरै बन्द गरिएको छ ।

यसैबिच अहिले बिहान ११ बजे धरान उपमहानगरपालिकामा सुरक्षा समितिको बैठक बस्दै छ । सो बैठकले धरानको लकडाउनलाई के गर्ने भन्ने बारेमा निर्णय गर्ने मेयर तिलक राईले बताएका छन् ।

आज पनि धरानमा बिहानै लकडाउन उल्लङ्घन गर्ने १० जनालाई धरान प्रहरीले भानु चौकमा नियन्त्रणमा लिएको छ । आज देखि प्रहरीले नियन्त्रणमा लिएकाहरूको नाम समेत सार्वजनिक गर्ने धरान प्रहरीले जनाएको छ ।