पथरी : पथरीशनिश्चरे नगरपालिकामा नगर बाहिरको तरकारी र फलफूल आयात बढेको भन्दै पथरीशनिश्चरे नगरले नगर बाहिरबाट आउने तरकारी र फलफूल आयातमा रोक लगाएको छ ।

लकडाउन प्रभावकारी बनाउन नगरभित्र आउने तरकारी र फलफूल आयातमा रोक लगाइएको नगरप्रमुख दिलीप कुमार राईले जानकारी दिए । लकडाउनलाई थप प्रभावकारी बनाउन नगर बाहिरवाट पथरीशनिश्चरे नगरभित्र भित्रिने यातायातका साधन समेत रोक लगाइने प्रमुख राईले जानकारी दिए ।

राष्ट्रिय राजमार्गमा कुद्ने सवारी साधन बाहेक नगरका भित्री भागमा अन्य नगरबाट आउने सवारी साधन समेत रोक लगाइएको राईले जानकारी दिए ।

यसै बिच नगरप्रमुख राईका अनुसार नगरभित्र तरकारी र फलफूलको अभाव हुन नदिन कृषक समूह तथा कृषक सहकारीमार्फत नगर भित्र तरकारी र फलफूल विक्री वितरण गर्न थालिएको छ ।

भारतमा कोरोनाको सङ्क्रमण बढिरहेको अवस्थामा भारतीय सीमा क्षेत्र नजिक पर्ने आफ्नो नगरका साथै अन्य सीमावर्ती नगरहरूले पनि यस बेला ज्यादै सजगता अपनाउन नगरप्रमुख राईले आग्रह गरेका छन् ।

कपुरी न्युजले पथरीशनिश्चरे नगरभित्र उत्पादित तरकारी बजार सम्म ल्याउन यातायातको अभावको कारण बारीमै कुहिएको समाचार प्रकाशित गरेपछि सो बारेमा चासो उत्पन्न भएको थियो ।