धरान : एकै पटक उदयपुरको भुल्के स्थित मस्जिदमा १२ जना कोरोना संक्रमित भेटीए पछि स्थानीयहरुमा त्रास फैलिएको छ । एक जना नेपाली र ११ जना भारतीयलाई कोरोना भएको पुष्टि भए पछि अहिले उदयपुरको भुल्केमा त्रासमय बनेको हो ।

जमाती बनेर आएकाहरुलाई मुस्लिम धर्मावलम्बीहरुले ठुलो सम्मान गर्ने भएकोले मस्जिद आउने सबै उनीहरूको सम्पर्कमा आएको  हुनसक्ने भन्दै तुरुन्त र्‍यापिड टेस्ट गर्नुपर्ने उदयपुरका मुस्लिम अगुवाहरूले माग गरेका छन् ।

उनीहरूका अनुसार ३४ दिन देखि मस्जिदमा बसेकाले उनीहरूलाई भुल्केमा बसोबास गर्ने सबै मुस्लिम समुदायका परिवारले खानापनको व्यवस्था गरेकाले खाना पुर्‍याउने ६८ घर परिवार सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरिएको छ ।

हिजो कोरोना पुष्टि हुने बित्तिकै त्रियुगा नगरपालिकाको वडा नं. ३ भुल्के सिल गरिएको छ । उदयपुरकै मुसलमान बस्ती रहेका ठाउँमा रहेका अरू मस्जिदहरूमा पनि उनीहरू पुगेकाले अरू ठाउँका मुसलमान बस्तीका सबैमा र्‍यापिड टेस्ट गर्न माग गरिएको छ ।