धरान :  तेह्रथुमको मेन्छ्यायेम गाँउपालीकामा ६ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट(आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएका सबैको पिसिआर परिक्षण नेगेटिभ रिपोर्ट आएको छ ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तेह्रथुमबाट १० वटा नमुना संकलन गरी पठाईएकोमा सबैको रिपोर्ट कोरोना नभएको  आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । डा. ऐरका अनुसार र्‍यापिड टेष्टमा पोजेटिभ देखिनुको कारण एण्टिबडीको परिक्षणमा मिल्दो जुल्दो एण्टिबडी भयो भने पोजेटिभ रिपोर्ट देखिने गर्दछ । र्‍यापिड परिक्षणलाई आधार मानेर यकिन हुन नमिल्ने भएकोले पुनः पिसिआर परिक्षण गर्नुपर्छ । यही पिसिआर परिक्षणबाट तेह्रथुमका सबैको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको हो ।

यसैगरी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्प डेक्समा स्वास्थ्य परिक्षण गर्न आउनेहरुको संख्या आज सम्ममा ३ सय २२ पुगेको छ । हेल्प डेक्समा आईपुगका मध्ये ३७ जना सरकारी क्वारेनटाईनमा रेफर गरिएको छ भने बाँकी २ सय ६५ जनालाई होम क्वारेनटाईनमा रेफर गरिएको बताईएको छ ।

यस्तै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परिक्षण ल्याबमा आज मात्रै ३० वटा नमुना संकलन भएको थियो । आज पिसिआर गर्दा २ सय ४९ वटा नमुनामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानको माईक्रो बायोलोजी बिभागले जनाएको छ । प्रतिष्ठानमा ४ जना आइसोलेसन वार्डमा उपचाररत अवस्थामा छन् भने १८ जना डिस्चार्ज भएर गइसकेका छन् ।