इटहरी : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशभरिका जनताको सुरक्षाको ग्यारेन्टी गरेका छन् ।

मुख्यमन्त्री राईले जनताको धैर्यतालाई सम्मान गर्दै प्रदेशभरिका नागरिकलाई भय रहित तरिकाले बस्न आग्रह गरेका छन् ।

आइतबार सन्देश जारी गर्दै राईले प्रदेश सरकार कोरोना बिरुद्द लड्न विभिन्न काम गर्दै आएको जानकारी गराउँदै जनताको सुरक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने बताए ।

मुख्यमन्त्री राईको सन्देश पूर्णपाठ

हामीहरु अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाकालागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु ।

अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सन पीसिआर प्रविधिबाट दुई ठाउँ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ । आजसम्म ३ सय ८७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधि र्यापिट डाइग्नोष्टिक टेस्टबाट पनि द्रुत गतिमा परीक्षण भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु । आरडिटी प्रविधिबाट अहिलेसम्म हाम्रो प्रदेशमा दुई हजार ८१ जनाको परीक्षण गरिएको छ ।

उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु ।

हालसम्म ५३ स्थानमा ४ सय ४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ । २ सय ५३ ठाउँमा ४ हजार ४ सय ४९ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ७६ जनालाई राखिएको छ । हाम्रो प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार १ सय ११ जना बस्नु भएको छ ।

दाजुभाई तथा दिदीबहिनिहरु

हाम्रो प्रदेशमा १३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भूल्के स्थित मस्जिदमा रहनु भएकाहरुको परीक्षण गर्ने क्रममा कोरोना संक्रमण देखा परेको हो ।

११ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखा परेको छ । उहाँहरुलाई अहिले उपचारको लागि प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा राखिएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरु चाँडै निको भएर घर फर्कने विश्वास सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अहिले हामी कन्ट्याक ट्रेसिङ्ग गरिरहेका छौं । यो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ । यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिलकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको छ । त्यसैले तपाईहरु त्रसित नहुन मेरो हार्दिक अपील छ ।

हामीले उच्च सर्तकता अपनाइरहेको अवस्थामा प्रदेशमा यसरी कोरोना संक्रमितहरु देखा परेसँगै हामीले थप सजगता र सावधानी अपाउनुपर्नेछ । त्यसैले तपाईहरुले लकडाउनको पूर्ण पालना गर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउनुहुनेछ ।

म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिनुहोस् । तपाईहरुको यही सहयोगको सरकारले अपेक्षा गरेको छ । तपाई हामी एकताबद्ध भएको खण्डमा हामीहरु कोरोनालाई जित्न सफल हुनेछौं । तपाईहरु ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं । धन्यवाद ।