झापा : झापास्थित कमल गाउँपालिकामा कोरोना परीक्षण रोकिएको छ । किटको अभाव भएका कारण परीक्षण रोकिएको हो ।

कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङका अनुसार जम्मा २० वटा किट प्राप्त भएकोमा वैशाख २ र ३ गते परीक्षण गर्दा नै सबै किट सकिएको हो । ४ गतेदेखि यता कमलमा परीक्षण हुन सकेको छैन ।र्‍यापिड डाइग्नोष्टिक टेस्ट विधि अर्थात् किटद्वारा कमल गाउँपालिका वडा नम्बर ५ मा ८ जना ,७ मा ७ जना ,२ मा ४ र १ नम्बर वडामा १ जनाको कोरोना परीक्षण गरिएको र सबैको रिर्पाेट नेगेटिभ आएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख थुलुङले जानकारी दिएका छन् ।

विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका उनीहरूको कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) बाट परीक्षण गरिएको थियो । परीक्षणका लागी थप किट मगाइएको र मङ्गलवार सम्ममा किट प्राप्त हुने थुलुङको भनाइ छ । आफूहरूलाई किट प्राप्त हुनासाथ परीक्षणलाई निरन्तरता दिइने उनले बताए ।