धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा आज पनि बिहानै देखि त्यहाँका स्थानीयहरूको स्वाब लिन थालिएको छ ।

हिजो नेपाली सेनाको हेलिकोप्टरबाट नेपाली सेनाको स्वास्थ्यकर्मी भुल्केमा आईपुगेको थियो । हिजो पहिलो दिन भुल्केको मस्जिद आसपासको क्षेत्रका मुस्लिम समुदायका १ सय ५२ जनाको कोरोना परीक्षणका लागि स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् । उनका अनुसार आज पनि त्यही सङ्ख्यामा स्वाब लिइने छ । हिजो लिइएको स्वाब हिजो नै काठमाडौँको टेकु अस्पताल पठाइएको उनले बताए ।

भुल्केमा २ सय ५० जनाको स्वाब लिइने भनिए पनि हिजोको तुलना गर्ने हो भने त्यही सङ्ख्यामा आज पनि स्वाब लिइने भएकोले ३ सय बढीको स्वाब परीक्षण हुने बताइएको छ ।
भुल्के मस्जिदमा बसेका १३ जना मुस्लिम धर्मगुरुहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनीहरूको ट्राभल हिस्ट्रीको आधारमा चौदण्डीगढी नगरपालिकामा पनि उनीहरू बसेको पाइएकोले चौदण्डीगढी नगरपालिकाको वडानं. ५ सिवाईमा पनि नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीले त्यहाँका बासिन्दाहरूको स्वाब लिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीका अनुसार उनीहरू जहा जाहा पुगे त्यहाँ त्यहाँ पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिनेछ ।

शुक्रवार १ नेपाली सहित ११ भारतीय नागरिक गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने त्यही मस्जिदमा बस्ने अर्काे एक जनामा पनि शनिवार कोरोना पोजेटिभ भएको पाइएपछि उदयपुरको भुल्के स्थित मस्जिदमा बस्ने १३ जना कोरोना भाइरस सङ्क्रमित पुगेका छन् ।

कोरोना सङ्क्रमित धेरै सङ्ख्यामा देखिएको क्षेत्र भुल्के अति संवेदनशील क्षेत्रकोरुपमा लिई सो क्षेत्रमा पुरै आवतजावत बन्द गरिएको छ भने त्रियुगा नगरपालिकाको १२, १, २, ६ नम्बर वडामा पनि निगरानी बढाइएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताएका छन् ।