धरान : प्रदेश एकको २ सय ९६ किलोमिटर भारतसँग सिमाना जोडिएको सीमा क्षेत्रमा १ हजार ९ सय ४६ जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकोले नेपालमा कोरोनाको जोखिमलाई मध्यनजर गरी सीमा क्षेत्रमा कडाइ गरिएको हो । सुनसरी देखि इलाम सम्मको सीमा क्षेत्रमा कडाइ गरिएको छ ।

सुनसरीको ६२.५ किलोमिटर क्षेत्रको ६० स्थानमा २ सय ३३ जना, मोरङको ६३ किलोमिटर क्षेत्रको ३६ स्थानमा २ सय ५९ जना, झापाको १ सय १८ किलोमिटर क्षेत्रको १ सय ५ स्थानमा ४ सय ७३ जना र इलामको ५२.५ किलोमिटर क्षेत्रको १६ स्थानमा ८९ जना जनपथ प्रहरी परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुमन तिम्सिनाले जानकारी दिएका छन् ।
सुनसरी देखि इलाम सम्मको २ सय ९६ किलोमिटर सीमा क्षेत्रमा जनपथ प्रहरी ११ सय १ जना, सशस्त्र प्रहरी ८ सय ४५ जना गरी ९ सय ४६ जना परिचालन गरिएको छ ।

४ सय ६० मस्जिद र मदरसाहरूमा प्रहरीको निगरानी
प्रदेश एकमा रहेका ४ सय ६० वटा मस्जिद र मदरसाहरूमा प्रहरीले निगरानी बढाएको छ ।

वीरगन्जको छप्कैया र उदयपुरको भुल्केको मस्जिदमा रहेका भारतीय मुस्लिम धर्मगुरुहरूमा कोरोना सङ्क्रमण देखिएपछि मदरसा र मस्जिदलाई विशेष निगरानीमा राखिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

एक नम्बर प्रदेशमा रहेका मस्जिद र मदरसाहरूमा बसेका भारतीय नागरिक ७७ जना, पाकिस्तानी २८ जना र नेपाली ९ सय ९५ जना गरी जम्मा ११ सय जना फेला परेका छन् । उनी सबैको स्वास्थ्य परीक्षण गरिसकिएको र उनीहरूको रिपोट नेगेटिभ आएको बताइएको छ ।

लकडाउनमा ४४ सय बढी मानिस पक्राउ
लकडाउनको अवधिमा अहिले सम्म एक नम्बर प्रदेशमा लकडाउन उल्लङ्घन गर्ने ४ हजार ४ सय १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानिससँगै ५ हजार २ सय १५ वटा सवारी पनि नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । पक्राउ परेका सर्वसाधारणलाई सामाजिक दुरी कायम गरेर कोरोना सम्बन्धी जानकारी दिँदै छाडिएको बताइएको छ ।

यसै गरी प्रहरीले लकडाउनलाई प्रभावकारी बनाउनका लागि प्रदेशनं. १ मा ४६ हजार ९ सय ३१ वटा पाम्पप्लेट छपाई वितरण गरेको छ भने ९ हजार २ सय ८२ पटक जनचेतनामूलक माइकिङ गरेको छ ।

यो सँगै अहिले एक नम्बर प्रदेशमा ट्राफिक प्रहरीले चेतनामूलक प्लेकार्ड सहित लकडाउनको बारेमा जानकारी दिईरहेको पनि एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् ।