धरान : वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साहलाई ७ बर्षिया छोरीको हत्या आरोपमा पक्राउ परेका छन् । साहले आफ्नी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको र सजायबाट बच्न आत्महत्या जस्तो अवस्था बनाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

छोरीको हत्या गरेपछि सजायबाट उम्किन साहले छोरीले आत्महत्या गरेको भनी नाटक रचेका थिए । २०७६ चैत ११ गते दिउँसो सवा २ बजे कोठाको भित्तामा गाडिएको किलामा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई आएको थियो ।

झुण्डिरहेको अवस्थामा बाबु सञ्जयले देखेर पासो खोली तत्कालै नारायणी अस्पतालमा पुर्‍याएको र अस्पतालले मृत घोषणा गरेको दाबी गरिएको परिवारको भनाइ थियो । तर प्रहरी अनुसन्धानका क्रममा बाबुले घाँटी थिचेर हत्या गरेको खुलेको डीएसपी शाहीले बताए ।

२०७७ वैशाख ४ गते सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको तर, उनको मृत्यु भएको थियो।

लकडाउन सुरु भएको दिन अंशुले बाहिर जान जिद्दी गरिरहेकी थिइन् । सोही क्रममा सञ्जयले बाहिर नजान भन्दा उनले नमानेपछि पिटेका थिए । झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सञ्जयले छोरीको घाँटी थिचेका थिए ।

प्रारम्भिक बयानमा सञ्जय  सर्राफले  हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।