जनकपुरधाम । धनुषाको जनकनन्दनी गाँउपालिकाका एक वडा अध्यक्षलाइ र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना पक्षिण गर्दा पोजेटिभ देखिएको छ ।

भारतबाट करिब एक महिना बसाइ पछि नेपाल फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ नेपाल आएका थिए ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवस्थामा उनी लुकेर घर आएको खबर पाएपछि प्रहरीले चैत २४ गते उनलाई जनकनन्दनी गाँउपालिकाको वडा नम्बर ४ स्थित एक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।

निरिक्षक रोकैयाका अनुसार क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाध्यक्षको मात्रै पोजेटिभ देखिएको छ ।
आरडिटि पोजेटिभ देखिएपछि उनको पिसिआर बिधिबाट थप परीक्षणका स्वाब संकलन गरि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।