धरान : निर्माणाधीन मातृशिशु भवन पूर्ण नहुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेलिभरी हुन पुगेका महिलाको बिजोग हुने गरेको छ । अस्पतालमा अझै पर्याप्त शैया र उपचार कक्षको अभावमा २४ घण्टा पनि नराखी बिरामी रेफर गर्नुपर्ने बाध्यता प्रतिष्ठान गुज्रीरहेकोछ ।

मन्त्री फेरिएसँगै मन्त्रीको चासो पनि फेरिने हुँदा निर्माणाधीन मातृशिशु भवन अलपत्र परेको हो । जसको कारण दैनिक सयौँ सेवाग्राही मर्कामा परेका छन् ।

पुर्वउपकुलपति डा.विपी दासले आफ्नो कार्यकाल सकिन लाग्दा सिनेटबाट ७६ करोड मात्र बजेट स्वीकृत भएको मातृशिशु भवन (एमसिएच) को ठेक्का सवा २ अर्बमा लगाएका थिए । सिनेटले स्वीकृत बजेट भन्दा कयौँ गुण बढीमा ठेक्का दिएर भन्दै प्रधानमन्त्री कार्यालयले छानबिन समिति बनाएपछि हाल मातृशिशुको भवन अलपत्र हो ।

दक्ष जनशक्ति र प्रविधि हुँदाहुँदै पनि काम गर्न भौतिक पूर्वाधारको अभावमा समस्या परिरहेको प्रसूति विभागका प्रमुख डा. मोहन चन्द्र रेग्मी सुनाउँछन् । ‘पर्याप्त शैयाको अभावमा २४ घण्टा नपुग्दै सुत्केरी बिरामी डिस्चार्ज गर्नुपर्ने बाध्यता छ ।

'चिकित्सकीय धर्मका हिसाबमा यो अपराध गरेजस्ता महसुस हुन्छ नि ! के गर्नु बाध्यता छ ।,’ उनी भन्छन्, ‘पछिल्लो समय कोरोना संक्रमण फैलिन थालेसँगै अझै बिरामीको चाप बढीरहेकोछ । नर्मल बिरामी पनि रेफर भएर प्रतिष्ठानमा आउँदा धान्नै नसक्ने अवस्था आइरहेको छ ।’

ठाउँकै आभावका आमा सुरक्षा कार्यक्रम लागु गर्न नसकिएको तर अन्य अस्पतालमा भन्दा महँगो शुल्क भए पनि विश्वासको आधारमा प्रतिष्ठान बिरामीको रोजाई मा पर्ने गरेको उनले बताए ।

हाल सो विभागमा २५ जना विशेषज्ञ डाक्टर हरू कार्यरत छन् । बाकी २७ जना एमबिबिएस डाक्टरहरूले सेवा दिइरहेका छन् । न्यूनतम ३ सय ५० शैया आवश्यक पर्ने अवस्थामा १५० शैयाबाटै जोखिमपूर्ण अवस्थामा काम चलाइएको उनी बताउँछन् ।

४०० शैया मातृशिशु भवन निर्माण सम्पन्न भएको खण्डमा प्रसूति विभागमा काम गर्ने र बिरामी दुवैलाई सहज हुने डा रेग्मी बताउँछन् ।

हरेक वर्ष डेलिभरीमा १२ हजार बिरामीले सेवा लिने गरेको उनले सुनाए । त्यस बाहेक ओपिडीमा दैनिक ४ सय बढी बिरामी आउने गरेका छन् ।

दैनिक रूपमा बिरामीको चाप बढिरहेकोले उपचार गर्न समस्या पर्दै गएको डा. रेग्मी बताउँछन् । आधा समय बिरामीको बेड मिलाउनमै बित्ने भएकोले थप रचनात्मक काम गर्न नसकिएको उनले बताए ।

मन्त्रालयमा मन्त्री र सचिवको फेरबदल नै त्यसको मुख्य समस्याको रूपमा देखा परेको छ । हरेक मन्त्रीले काम गर्ने पतिवद्धता जनाउने तर केही प्रक्रिया अगाडी बढ्ने बित्तिकै मन्त्री पद खुस्किने गरेको छ ।

केही समय अगाडी हालका श्वस्थमन्त्री भानुभक्त ढकालले आफू यस विषयमा गम्भीर भएकोले आगामी केही दिनमै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । जुन अहिलेसम्म पुरा हुन सकेको छैन ।

उता नवनियुक्त उपकुलपति ज्ञानेन्द्र गिरीले भने आफू काम गर्न प्रतिष्ठान आएको भन्दै केही समयमै सम्पूर्ण समस्या समाधान गरिने बताएका छन् । आफू आएपछि प्रबिधिमैत्री प्रतिष्ठान बनाउन लागी परेको भन्दै उनले अब बिरामीले पुर्जी काट्ने देखी रिपोर्ट लिनेसम्म घरबाटै गर्न सक्ने उनको भनाई छ ।

‘मैले प्रतिष्ठान आएको केही दिनमै सहकुलपती सँग कुराकानी गरी सकेको छु । अब मातृशिशु भवन लगायत अड्किएका कामहरू सबै सुरु हुन्छन् ।,’ उनले भने, ‘अहिले कोरोना नियन्त्रणमा सबैको ध्यान गइरहेको अवस्था भए पनि आन्तरिक रूपमा मैले धेरै काम गरीरहेकोछु ।’