धरान : उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएकाहरुलार्ई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याईपुर्‍याईएको छ ।

गएको शुक्रबार १२ जनामा र शनिबार थप १ जना गरी १३ जनामा कोरोना संक्रमण भएकोमा आज थप ८ जनामा कोरोना पोजेटिभ देखिएकोले उनीहरुलाई आईसोलेसनमा राख्नका लागि धरान पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको १० वेडको आईसोलेसन वार्डमा अहिले अरु आशंका गरिएका बिरामी पनि रहेकाले उनीहरुलाई प्रतिष्ठानमै राख्न समस्या देखिएको छ ।

प्रतिष्ठानमा बैशाख १३ गते देखि मात्रै १ सय बेडको १० वटा भेन्टीलेटर सहितको कोरोना विषेश अस्पताल संचालन हुने भएकोले अहिले बिरामी राख्ने पुरै तयारी भने भएको छैन ।

उनीहरुलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिने हो या थ्रोट स्वाब लिएर विराटनगर लगिने हो एकिन भईनसकेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले बताएका छन् ।