धरान : विश्वमा महामारीको रूप लिईरहेको कोभिड १९ कोरोना भाइरस नफैलियोस् भनेर स्वास्थ्यकर्मीहरु यतिबेला जोखिम मोलेर यसको नियन्त्रणमा अघि बढेका छन् ।

कोरोना जस्तो प्राणघातक भाइरसको दन्किरहेको ज्वालामा पहिलो लाइनमा खटिनु मामुली बिसय पनि होइन । तर पनि त्यसको प्रवाह नगरी स्वास्थ्कर्मीहरुले आफ्नो धर्म निभाइरहेका छन् । युद्धमा हिँडेको सिपाहीले ढाड फर्काउनु हुन्न भन्दै एउटा स्वाथ्यकर्मीको टोलीले जोखिम मोलेरै कोरोना फैलिनबाट रोक्ने प्रयास गरेका छन् ।

युद्धमा हिँडेको सिपाहीले ढाड फर्काउनु हुन्न भन्ने उक्तिलाई चरितार्थ गर्दे उदयपुरका ४ जना स्वास्थ्यकर्मीले जोखिमको प्रवाह नगरी कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न उदयपुरको त्रियुगा नगरपालिकाको वडानं. ३ भुल्केमा रहेको मस्जिद सम्म पुगे ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले नेतृत्व गरेको टोलीले भुल्केको मस्जिदमा पुगेर त्यहाँ रहेकाहरूको र्‍यापिड परीक्षणमा खट्यो । कोरोनाको आशङ्का गरिएकाहरूको स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आयो ।

केहि दिन अगाडी ११ भारतीय नागरिक र एक जना नेपाली नागरिकमा कोरोना भएको पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरु क्वारेन्टाइनमा छन् । जनस्वास्थ्य प्रमुख मोहन सुवेदी सहित ल्यावका स्वास्थ्यकर्मी २ जना, १ जना सवारी चालक पनि होम क्वारेनटाईनमा बसिरहेका छन् ।

आइतबार नेपाली सेनाको हेलिकोप्टर मार्फत आएका सेनाका स्वास्थ्यकर्मीको टोलीले जिल्ला स्वास्थ्य कार्यालयका होम क्वारेनटाईनमा बसेका प्रमुख सहित ३ जनाको थ्रोट स्वाबको परीक्षणको रिपोर्ट आज मङ्गलवार नेगेटिभ आएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको क्षेत्रमा ज्यानको बाजी थापेर त्यहाँ रहेका आशङ्का गरिएका मानिसहरूको स्वास्थ्य परीक्षण गरेर थप फैलिन नदिएकोमा जोखिम भए पनि अहिले सन्तुष्ट लागेको उदयपुर जिल्लाका स्वास्थ्य प्रमुख मोहन सुबेदी बताउँछन् ।

तेह्रथमुको साव्ला पुखौली गाउँ भएका सुबेदीले जाजरकोटबाट हेल्थ असिस्टेन्टको जागिरबाट स्वास्थ्य क्षेत्रमा लागेका थिए । ३५ वर्ष देखि सरकारी जागिरमा निरन्तर लागिरहेका सुबेदीले पब्लिक हेल्थ अफिस र हेल्थ एजुकेसनबाट मास्टर गरेका उनी यस भन्दा अघि ओखलढुङ्गाको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भएका थिए ।

भर्खरै उदयपुर आईपुगेका सुबेदीले आफ्नो कार्यक्षेत्रमा कोरोनाको जोखिमलाई नियन्त्रण गर्नका लागि आफै क्वारेनटाईनमा बस्ने गरी काम गरेका छन् । उनी भन्छन् “ मेरो जिम्मेवारी, कर्तव्य र दायित्व हो, म काम गर्ने एउटा मजदुर हुँ, जोखिम मोलेरै काम गर्दा सन्तुष्टि लाग्छ ।”

उदयपुर नेपालकै सबै भन्दा धेरै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या भएको जिल्ला भएको छ । उदयपुरमा पहिलो चरणमा त्रियुगा नगरपालिकाको वडानं. ३ को भुल्के स्थित मस्जिदमा एकै दिन १२ जना र दोस्रो दिन १ जनामा कोरोना देखिएको थियो ।

पुन: मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

यदि त्यहाँ बेलैमा नपुगेको भए अवस्था के हुन्थ्यो होला ? त्यस्तै अरू ठाउँमा पनि जोखिम छ ।

“आफू र सबै स्वास्थ्यकर्मीहरुमा कोरोना नभएको रिपोर्ट आएको छ अव फिल्डमा खटेर काम गर्ने हो” प्रमुख सुबेदी भन्छन् ।

जे होस कोरोनाले विश्वलाई सन्त्रास बनाईरहेको बेलामा उदयपुरका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिका साँच्चै उदाहरणीय र प्रसंसानिय रहेको छ ।