इटहरी : इटहरी उपमहानगरपालिकाको संयोजनमा वितरण गर्ने गरी रोटरी क्लब अफ इटहरीले विभिन्न स्वास्थ्य संस्थाहरुलाइ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पिपिइ उपलब्ध गराएको छ । रोटरीको तर्फबाट क्लबका पूर्व अध्यक्ष लक्ष्मी धितालले इटहरी मेयर द्वारिकलाल चौधरीलाइ बीस थान पिपिइ हस्तान्तरण गरेका थिए ।

रोटरीले इटहरीलाई हस्तान्तरण गरिएको पिपिइ मध्ये तीन थान मेयर चौधरीले नेपाली सेनाको व्यवस्थापनमा मोरङ्गको टाँडीमा रहेको क्वारेन्टाइनका लागि प्रदान गरेका छन् । त्यसै गरी उपमहानगरपालिकाले प्राप्त गरेको उक्त पिपिइमध्ये इटहरी अस्पताल, जनता क्पाम्पसमा रहेको क्वारेन्टाइन र इनरुवा अस्पतालका लागि पनि तीन तीन थान पिपिइ उपलब्ध गराइएको छ ।

यस बाहेक नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको एम्बुलेन्स चालकहरुका लागि दुइ थान तथा खनार स्वास्थ्य चौकी र परिवार स्वास्थ्य केन्द्रका लागि पनि रोटरीले उपमहानगरपालिकामार्फत एक एक थान पिपिइ उपलब्ध गराएको क्लबकी अध्यक्ष अनिता अधिकारीले बताइन ।

रोटरी क्लबले सुनसरीको भारतीय सिमावर्ती क्षेत्रको सुरक्षामा परिचालित सशस्त्र प्रहरी बलको कप्तानगञ्ज र हरिपुर पोष्टका लागि पनि दुइ दुइ थान पिपिइ उपलब्ध गराएको हो ।

यस अघि पनि रोटरी क्लब अफ इटहरीले इटहरीस्थित नेपाली सेनाको सैनिक अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुलाइ पिपिइ लगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको थियो ।

क्लवले सैनिक अस्पताल इटहरीकी महासेनानी डा. सरिता केसी, वीपी प्रतिष्ठानका इमरजेन्सी विभागका प्रमुख डा. ज्ञानेन्द्र मल्ल लगायतलाइ अन्तराष्ट्रिय मापदण्ड अनुसारको दश थान पिपिइ, वाटर फिल्टर, स्टिल ड्रम, प्लाष्टिकको बाल्टी, दुइ दर्जन जुत्ता लगायतका सामग्रीहरु वितरण गर्नुभएको थियो । यस वाहेक इलाका प्रहरी कार्यालय इटहरी तथा केही प्रहरी पोष्टहरुमा रोटरी क्लवले सर्जिकल मास्क पनि उपलब्ध गराएको छ ।