धरान : कोरोना भाइरसको जोखिम बढेको भन्दै बन्द भएको धरान १३ स्थित कृषि बजार बिहीबार देखि खुल्ने भएको छ ।

धरान उपमहानगरपालिकामा मङ्गलवार बसेको बैठकले तरकारीको आपूर्ति सहज बनाउन कृषि उपज बजार सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले बिहान ९ बजेभित्र तरकारी वितरण गरिसक्ने र १० बजेभित्र बजार बन्द गरिसक्ने निर्णय गरेको छ ।

कृषि उपज बजार स्थलमा भारतबाट तरकारी आयात नगर्ने र पहाडमा उत्पादन भएको तरकारी र राजमार्ग उत्तरको छिमेकी नगर, गाउँमा उत्पादन भएको तरकारी मात्रै आयात हुन दिने निर्णय भएको छ । छिमेकी गाउँ तथा नगरको तरकारी आयात गर्दा गाउँ, नगरपालिका वा वडा कार्यालयले त्यही उत्पादन भएको प्रमाणित गरेको पत्रका आधारमा मात्र कृषि उपज बजार स्थलमा ल्याउन दिने बताइएको छ । बुधवार कृषि बजारले बजार खोल्नका लागि आवश्यक तयारी गर्ने र बिहीबार देखि खुल्ने निर्णय भएको छ ।

बैठकले धरानको वडा कार्यालयले आफ्नो वडामा तोकेको केन्द्र वा पसलमा मात्र तरकारी बिक्री गर्न दिने पनि निर्णय गरेको छ । भिड व्यवस्थापन गर्नको लागि ती बिक्री केन्द्र वा पसलहरूमा कृषि बजारका व्यापारीहरूले नै माग बमोजिम तरकारी पुर्‍याइदिनुपर्ने पनि निर्णय भएको छ । यसको लागि बुधवार आवश्यक तयारी गरिने कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । ‘एउटा वडामा पिकअपमार्फत पसलले माग गरे बमोजिमको तरकारी सम्बन्धित डिपो वा पसलमा पुर्‍याउने बताइएको छ ।

व्यवस्थापक भट्टराईका अनुसार वितरणलाई व्यवस्थित बनाउन धरानको २० वटा वडालाई २ भागमा विभाजन गरिएको छ । ती मध्ये पहिलो १० वडालाई एक दिन तरकारी पठाइन्छ भने बाँकी १० वडालाई अर्को दिन तरकारी पठाइनेछ । ‘१० वटा वडालाई पनि २ भाग गरेर एक घण्टा ५ वटा वडालाई र अर्को एक घण्टा बाँकी ५ वटा वडालाई पठाउने समय छुट्ट्याएको छ । बिहान ९ बजेसम्म कृषि बजारबाट तरकारी वितरण भई सक्ने र बिहान १० बजेभित्र व्यापारीहरूले हिसाब सकेर त्यो दिनलाई कृषि बजार बन्द गर्नुपर्ने निर्णय भएको छ ।

minute-krishi