धरान : केही दिन अगाडी धरान उपमहानगरले आफ्नो क्षेत्र भित्रका सडकहरूमा बस्ने गरेका मान्छेहरूलाई एकीकृत क्वारेन्टाइन बनाएर राख्यो । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले घरमै बस्ने उर्दी जारी गरेकाले घर भएकाले त घर मै बसे तर घर नभएकाहरू सडकमै थिए ।

त्यसैले उपमहानगरले सडकमा रहेकाहरूलाई कोरोना बाट बचाउन धरान क्षेत्रकामा रहेका सडक आश्रितहरूलाई लांघाली सामुदायिक वन समूहको आवास गृहमा लगेर व्यवस्थापन गर्‍यो । एकीकृत गरेर राखिएको क्वारेन्टाइनमा वैशाख १ गते पहिलो दिन ४४ जना मात्र थिए ।

तर अहिले सडकबाट क्वारेन्टाइनमा आएको सङ्ख्या ९० पुगिसकेको छ । जसमा २३ जना महिला र १ जना बच्चा र ६६ जना युवा तथा वृद्ध उमेर समूहका छन् । महिला र पुरुषलाई २ वटा अलगअलग कोठामा राखिएको छ ।

धरान उपमहानगर संयोजनमा सामाजिक संस्था होप धरानले लांघालीमा बसेकाहरूको लागि बिहानको खाना र दिउँसोको खाजा लायन्स क्लब अफ धरान विजयपुरको खुवाउने गर्दछ । बिहानको खाजा र बेलुकाको खाना भने धरान उपमहानगरले खुवाउने गर्दछ । सामुदायिक वनमै रहेका एक भान्से र दुई सहयोगीले खाना बनाउने गरेको धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् ।

Street-People-3

सडकमा ज्यादै फोहोरी, दुर्गन्ध फैलिने गरी बसेकाहरूलाई ल्याएर सरसफाइ गरी चिटिक्क पारिएको छ । नयाँ कपडा लगाउन दिइएको छ । उपमहानगरपालिकाले उनीहरूको सरसफाइको लागि ४ हजार लिटर पानी दैनिक ल्याउने गरेको छ ।

त्यसै गरी आश्रितको सुरक्षाको जिम्मा लागि जनपथ र नगर प्रहरीका चार जनाले लिने गरेका छन् । खान, बस्न मात्र हैन साँझ उनीहरूलाई ओशो आश्रमबाट आउने आनन्द श्रेष्ठले योगा समेत गराउछन् ।

आश्रममा रहेका ९० जना मध्ये १३ जनाको पहिलो चरणको कोरोना परीक्षण गरि सकिएको छ । जसमा १३ जनाकै रिपोर्ट नेगेटिभ छ ।

सामूहिक क्वारेन्टाइनमा प्रोजक्टरमार्फत फिल्म हेराउने र गीत, सङ्गीत बजाएर नृत्य गराउने गरिन्छ । यस्तै,क्यारम बोर्ड, लुँडोलगायत खेल सामग्रीहरूको पनि व्यवस्था गरिएको छ भने वन समूहको चौँरी सफा गराउने झार काट्ने काममा उनीहरूलाई भुलाउने काम भइरहेको छ ।

उनीहरूलाई नुहाउने लुगा धुने तथा सरसफाइमा विशेष ख्याल पुर्‍याएको र सैलुन सँगको समन्वयमा कपाल, दारी नङ समेत काटिदिइएको र त्यहाँ रहेकाहरूको शारीरिक, मानसिक अवस्था हेरेर वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका चिकित्सकहरूबाट मानसिक तथा स्वास्थ्य जाँच पनि गराइएको छ ।