धरान : एक साता अघिदेखि बन्द रहेको धरान-१३ स्थित कृषि उपज बजार स्थल भोलिदेखि खुल्ने भएकोले आज साँझ सम्ममा ३० टन तरकारी आयत हुने अनुमान गरिएको छ ।

यो समाचार तयार पारुन्जेल सम्ममा धरान आसपासका क्षेत्रबाट र मोरङको पथरीबाट १० टन बराबरको तरकारीजन्य बस्तु आयत भइसकेको कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

मङ्गलवार धरान उपमहानगरपालिकाको उच्च स्तरीय बैठकले धरानमा लकडाउनको बेलामा तरकारीजन्य बस्तुमा सहज होस भनेर एक साता अघि देखि बन्द रहेको कृषि बजार सुचारु गर्ने निर्णय गरेको हो । कृषिबजार सुचारु गर्नकालागि भारतबाट तरकारीजन्य बस्तु आयत नगर्ने निर्णय गर्दे पहाडी क्षेत्र, धरान आसपासका नगरपालिका, गाउँपालिका र मोरङको कटारीमा रहेको कृषि बजारबाट मात्रै तरकारीजन्य बस्तु आयत हुनेछ । भोलि बिहीबार देखि कृषि बजार सञ्चालनमा आउने भएकोले आज साँझ सम्ममा करिब ३० टन बराबरको तरकारी आयत हुने अनुमान गरिएको व्यवस्थापक भट्टराईले बताएका छन् ।

कृषि बजारमा आउने तरकारीजन्य बस्तुहरूमा पहाडबाट मटर कोसा, सिमी, बन्द कोभी, आलु र केही मात्रामा टमटर हुनेछ भने मोरङको कटारीको कृषि बजारबाट पनि तरकारीजन्य बस्तु आयत हुनेछ ।

तरकारी कृषि बजारमा ल्याउनका लागि तरकारी किसान र व्यापारीले तोकिएका नगरपालिका, गाउँपालिकाको सम्बन्धित वडाहरूको सिफारिस अनिवार्य हुनुपर्नेछ । त्यसै गरी तरकारी बजारमा पठाउदा धरानका २० वडालाई दुई भागमा विभाजन गरी १० वडालाई एक दिन र अर्को दिन १० वडालाई अर्को दिन तरकारी दिइने व्यवस्था गरिएको छ ।

यसरी वडा वडामा पठाइएको तरकारी बिक्रीका लागि विक्रेताहरूले फोटो सहितको सम्बन्धित वडाको सिफारिस हुनुपर्ने बताइएको छ । यसबारेमा सम्बन्धित वडाहरूलाई जानकारी गराई सकिएको कृषि उपज बजार स्थलले जनाएको छ । कृषि बजारबाट बिक्रीका लागि पठाइएको तरकारी मुल्यसुची सहित सम्बन्धित विक्रेता सम्म पुग्ने छ । ढुवानीको हकमा भने सम्बन्धित वडाले व्यवस्था गरेको सवारीले ढुवानी गर्नुपर्ने र यदि वडासँग त्यस्तो ढुवानीको साधन भएन भने कृषि उपज बजार स्थलकै थोक व्यापारीले ढुवानीको लागि व्यवस्था गर्ने र ढुवानी खर्च सम्बन्धित विक्रेताले बुझाउनुपर्ने छ ।

कृषि बजार कोरोना सङ्क्रमणको उच्च जोखिम भएको भन्दै एक साता अघि बन्द गरिएकोमा अव पुनः सुचारु हुँदा भने बिहान ९ बजे सम्म मात्रै कृषि उपज कृषि बजार बाहिर पठाउन पाउनेछ भने बिहान १० बजे देखि बजार बन्द गरी सक्नुपर्ने निर्णय भएको छ ।