धरान : उदयपुरकै थप तीन जनामा कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरू उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य रहेको मन्त्रालयले जनाएको छ । आज कोरोना सङ्क्रमित भएका तीन जना मध्ये २ जना विराटनगरका रहेको र १ जना भारत दिल्लीबाट उदयपुरमा जमातीको रुपमा पुगेको बताइएको छ ।

PCR-Baishak-10

उनीहरूलाई मोरङको टाडी स्थित नेपाली सेनाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरूको स्वाब परीक्षण गर्दा आज कोरोना पोजेटिभ रिपोर्ट आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । यो सँगै उदयपुरको भुल्के स्थित नुरी मस्जिदमा बसेका मुस्लिम धर्मगुरु सहित २७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । उनीहरू मध्ये ७ जना निको भइसकेका छन् ।