पथरी : पथरीशनिश्चरे नगरपालिकाका विभिन्न वडाका अध्यक्षले नगरबाट अध्ययन गर्न र अन्य कामका लागी नगरबाहिर रहेका आफ्ना वडावासीलाई घर फर्किन चाहे घर फर्काउने व्यवस्थापन गर्न थालेका छन् ।

कोरना भाइरसको सङ्क्रमण नफैलिनका लागी सरकारले १ महिना देखि गरेको लकडाउनका कारण समस्यामा परेका वडा वासीलाई घर फर्किन सहज बनाउन वडा अध्यक्षहरूको पहलले वडावासीलाई सहज हुने भएको हो ।

आफ्ना वडा वासीलाई घर फर्किने पहल थाल्ने वडा अध्यक्षहरूमा वडा नम्बर १० का सागर राई, ६ का जयबहादुर तामाङ, ८ का बाबुराम दाहाल र १ का वावुरामा येङ्गदेन रहेका छन् ।

काठमाडौँ र अन्य सहरमा अध्ययन गर्न वा अन्य प्रयोजनका लागी रहेका वडावासीलाई सुरक्षित साथ घर फर्काउन थालिएको वडा नम्बर १० का अध्यक्ष सागर राईले जानकारी दिए । वडावासी जो भए पनि घर फर्किन चाहे गाडीको व्यवस्था गरेका छौ । लकडाउन लम्बिए सँगै काठमाडौँ लगायतका सहरमा रहेकाहरू खाद्य सामाग्रीको अभाव देखाउँदै गाउँ फर्किन थालेका छन् ।

वडावासीमा असहज अवस्था नआओस् भनेर सवारी साधनको व्यवस्था गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष जयबहादुर तामाङले जानकारी दिए ।

आफ्नो वडामा कति सङ्ख्यामा अन्य सहरमा रहेको र तिनीहरूलाई नगर भित्राए पछि कसरी सुरक्षित साथ राख्ने बारे पनि व्यवस्थापन भइरहेको राईले जानकारी दिए ।