धरान : जिल्ला अस्पताल उदयपुरलाई कोरोना उपचार व्यवस्थापन सुधारका लागि प्रदेश सरकारले तत्काल १ करोड बजेट विनियोजन गरेको १ नं प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।

बिहीबार उदयपुरको कोरोना सङ्क्रमित क्षेत्र भुल्के पुगेर स्थलगत अनुगमन तथा छलफलमा घिमिरेले सो कुरा बताएका हुन् । उदयपुर कोरोनाको उच्च जोखिमको अवस्थामा रहेको भन्दै सामान्य उपचारको लागि भए पनि उपचारको व्यवस्थापनमा सहज बनाउन अस्पताल सुधार्नु पर्ने भन्दै बजेट विनियोजन गर्नुपर्ने जानकारी दिए । घिमिरेले २÷४ दिनमै बजेट निकासा हुने प्रतिबद्धता जनाउँदै आवश्यक मापदण्ड अनुसार सामानहरू जुटाई अस्पताल सुधार गर्न अस्पताल व्यवस्थापन समितिलाई अनुरोध गरेका छन् ।

उनले प्रदेशको क्षमता अनुसार उदयपुरमा तत्काल स्थायी रूपमा कोरोना अस्पताल निर्माण गर्न नसकिए पनि यसलाई अस्थायी रूपमा सुधार गरी अघि बढाउनुपर्ने बताएका छन् । प्रदेश सरकारले उदयपुरको यो अवस्थालाई गम्भिर रूपमा लिएको बताउँदै पूर्ण रूपमा सामाग्रीहरू उपलब्ध गराउन प्रदेशको सामर्थ्यले नभ्याएको बताए ।

प्रदेशको सामर्थ्य हैसियत भित्र उपलब्ध भएका कुनै पनि सामाग्री र जनशक्ति उदयपुरको आवश्यकता अनुसार उपलब्ध गराउन आफूहरू लागि परिरहेता पनि उदयपुरे जनताहरू र सम्बन्धित निकायहरूको माग अनुसार आफूहरूले सामाग्रीहरू उपलब्ध गराउन नसकेको स्वीकार गरे ।