धरान : धराने जनतामा स्वच्छ, सफा र गुणस्तरीय माछा,मासु उपलब्ध गराउँदै आएको भिआरसी मिट मार्टले पछिल्लो समय ग्रोसरी मार्टपनि संचालन गर्दै आएको छ ।

कोरोना संक्रमणले गर्दा लक डाउन अवस्थामा घरभित्रै थुनिएका धराने जनतालाई अनलाईन डेलिभरी सेवादिन भिआरसीले पहिलो पटक VRC STORE एप बजारमा ल्याएको छ ।

बिहीवार आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औंसीको अवसरमा भिआरसीले Online Delivery सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । ग्राहाकहरुमा भिआरसीको सेवालाई छिटो छरितो र सहज बनाउनको लागि धरानको पहिलो अनलाईन फुड डेलिभरी सेवा प्रदान गर्दै आइरहेको भोक लाग्यो डट कमसँंग प्राविधिक सहकार्य गरि VRC STORE एप संचालनमा ल्याईएको भिआरसीका संचालक समिर तामाङले बताए ।

उनका अनुसार Android / IOS दुवै प्लेट फर्ममा रहेका एप डाउन लोड गरि अब घरैबाट VRC STORE को ताजा तरकारी, फलफुल, माछा मासु, दाल,चामल,नुन,तेल र अन्य सम्पुर्ण घरायसी सामानहरु मगाउन सकिने छ ।
यसअघि फोन मार्फत भान्सामा पकाईने हरेक सामानको डेलिभरी गर्दै आएतापनि अब अनलाईनबाटै सेवा प्रदान गर्ने उद्धेश्य अनुरुप आफ्नै एप संचालनमा ल्याएको भिआरसीले जनाएको छ । हरेक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म होम डेलीभरी सेवा प्रदान गर्दै आएको भिआरसीले होम डेलिभरी सेवामा कुनै शुल्क नलिएको संचालक तामाङले बताए ।

यसैगरी भिआरसी स्टोरसंँग सहकार्य गर्दै आएको भोक लाग्यो डटकमका संचालक नरेन कुलुङले धरानका हरेक होटलका परिकारहरु भोक लाग्योले होम डेलिभरी सेवा प्रदान गर्दै आएतापनि लक डाउनले सबै होटलहरु बन्द भएपछि अहिले भिआरसी स्टोरसंँग सहकार्य गरी सेवा प्रदान गर्दै आईरहेको समेत बताए ।
सञ्चालक कुलुङका अनुसार अहिले प्रत्येक दिन सय घरपरिवारलाई भिआरसीले होम डेलीभरी सेवा प्रदान गर्दै आएको छ ।