धरान : भोजपुर हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका एक युवामा कोरोना सङ्क्रमित युवा मावलीघर धरान, ससुराली हुँदै घर पुगेको पाइएको छ ।

उनी साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट काठमाडौँ ओर्लिएर काठमण्डौबाट सुनसरी आएको पाइएको छ । रात्रि बसमा सुनसरीको झुम्का आएका उनी नहडाको एक जना साथी सँग आएका थिए । त्यसपछि डेरा गरी बसेका पत्नीलाई भेटन सुनसरीकै चतरामा आएको खुलेको छ ।

चतराबाट बसमा चढेर परिवार सहित मावलीघर धरान आएर बसेको देखिएको छ । धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन् । धरान मावलीघर, चतरा डेरा र इटहरीमा साथीहरू सँग घुमेका उनी ८ दिन सम्म सुनसरी नै रहेका थिए । सुनसरी पछि उनी ससुराली उदयपुरको बेलका नगरपालिकाको मैनामैनि फागुन ९ गते गएको पाइएको छ ।

मैनामैनी ससुरालिमा २ दिन बसेका उनी ११ गते बिहान स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशिको चुहार सम्म पुगे । त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका-९ हसनपुरको बार्ताङ्ग सम्म पुगेका थिए ।

त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घण्टा बसेपछि अर्को मोटरसाईकलमा भोजपुरको हतुवागढी ६ स्थित होम्ताङ्ग घर पुगेको पाइएको छ । उनी भोजपुर पुगेपछि स्थानीयवासीले गाउँपालिकाको हटलाइन नम्बरमा खबर गरेका थिए । घर पुगेपछि उनी एकान्तबासमा नबसी साथीहरू सँग हिँडडुल गरेको पाइएको छ ।

सामान्य लक्षण समेत नआएको कारण उनी गाउँमा भलिबल खेल्न र सिकार खेल्न गएका थिए । उनको सम्पर्कमा आएकाहरू धेरै भएको हुन सक्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँको भलिबल खेल्ने सबै ठाउँमा उनी पुगेको पाइएको छ । गाउँमा एक शिक्षकको मृत्यु भएपछि मलामी समेत गएको स्थानीय अर्थ राईले बताए ।

गाउँमा अन्योल

वैदेशिक रोजगारीबाट फर्किएका एक युवामा कोरोना सङ्क्रमण भए पछि स्थानीय बासी भने अन्योलमा परेका छन् ।

सङ्क्रमित युवा घर भन्दा बढी गाउँ घरमा हिँडेको पाइएपछि उनीहरू त्रसित बनेका हुन । गाउँलाई नै सिल गरेर कोरोना परीक्षण गर्न स्थानियि बासीले माग गरेका छन् । गाउँमा उनीसँग सामाजिक सम्पर्कमा रहेका व्यक्तिहरूको पिसिआर नै परीक्षण गरिनु आफूहरूको माग रहेको स्थानीय रिमाल राईले बताए ।

हतुवागढी गाउँपालिकाले भने गाउँपालिका बासिलाई संयम र सतर्क रहन अनुरोध गरेको छ । हर प्रयास र सावधानीको बाबजुद १ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

गाउँपालिकाले उनको उपचार र उनीसँग नजिक भएका परिवार लगायत अन्यमा यथाशीघ्र स्वास्थ्य परीक्षण गरिने व्यवस्था भइरहेको राईले बताएका छन् । कोरोना संक्रमित युवालाई अहिले हतुवागढीको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ ।

गाउँपालिकाको आकस्मिक बैठक बसी अव कसरी अगाडी बढ्ने भन्ने बारेमा निर्णय गरिने अध्यक्ष राईले कपुरी न्युजलाई जानकारी दिएका छन् ।