धरान : उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के गाउँमा पहिलो पटक कोरोना सङ्क्रमित देखिएको आज ठ्याक्कै एक साता भएको छ ।

Bhulke-1 आज सम्म आई पुग्दा भुल्के गाउँको अवस्था के छ ? भनेर केही संञ्चारकर्मी साथीहरूले समाचार लेख्नका लागि सोधेको बाहेक केही कसैले सोधेका छैनन् । भुल्केमा पहिलो पटक वैशाख ५ गते शनिवार १२ जनामा पहिलो पटक कोरोना देखियो त्यस पछि थप अरुमा पनि देखिँदै गयो अहिले आएर २८ जना पुगेका छन् । गाउँमा पुरै सन्नाटा छाएको छ ।

Bhulke-5 अहिले सम्म भुल्केमा नेपाली सेनाको हेलिकोप्टरबाट नेपाली सेनाको चिकित्सक आए देखि न सङ्घीय सरकारले हेरेको छ न त प्रदेश सरकार लेनै हेरेको छ यहाँको अवस्था अत्यन्तै जटिल बनेको छ ।

Bhulke-3 उदयपुर सदरमुकाम गाईघाटबाट करिब ३ किलोमिटरको दुरीमा रहेको भुल्के गाउँमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जाँदा एक साताको अवधिमा २८ जना पुगेका छन् । अहिले सम्म गैर मुस्लिम समुदायमा कोरोना सङ्क्रमण देखिएको छैन । तर पनि एउटा वडाको एउटा गाउँमा यत्तिका धेरै सङ्क्रमित देखिएपछि राज्यले अलिकति भए पनि चासो दिनुपर्ने होइन र ? प्रदेश सरकारबाट बिहीबार १ नं प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे भुल्के आई पुगे । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कोरोना अस्पताल भुल्केमा बनाउन माग गर्दा मन्त्रीले सुनेको नसुनेझैँ गरे ।

Bhulke-6 भुल्केमा अहिले सबै भन्दा गाईबस्तुलाई ठुलो समस्या भएको छ । आ आफ्नो घर देखि कोही पनि निस्किएका छैनन् । धन्न नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केमै परेछ । सेनाको बाहिनी क्षेत्र परेकोले सेनाको हेलिकोप्टर मार्फत सेनाका चिकित्सक आएर भुल्केका सर्वसाधारणको स्वाब लिए । नत्र अहिले सम्म कोही आई नपुग्ने रहेछन् ।

Bhulke-4

बाक्लो बस्ती छ, खुल्ला ठाउँ छैन । ठुला मानिसले त पानी मात्रै खाएर नि बस्न सकिन्छ , तर केटाकेटी र बस्तुभाउको बिजोग भएको छ । यति बेला खेती किसानी गर्ने समय हो तर अव यस्तो अवस्थामा के नै गर्न सकिन्छ र ?

Bhulke-7

करिब ३ सय घरधुरीको बसोबास रहेको भुल्केमा १५ सय जतिको जनसङ्ख्या रहेको छ । यहाँ सबैलाई चेतना छ । मास्क सेनिटाईटर पनि ठिकै छ तर बिरामी हुँदा सारै समस्या भएको छ । अस्पतालमा जाँदा भुल्केको भन्दा नजिक कोही आउँदैनन् पर पर भाग्छन् । सरकारले स्वास्थ्यकर्मी परिचालन नगरे नहेरे पनि सुत्केरी, दीर्घ रोगी, दमका बिरामीलाई ठुलो समस्या भएको छ ।

यत्तिका कुरामा त ध्यान दिओस् सरकारले । यदि यस्तै अवस्था रहिरहे अव एक सातामा भुल्केमा ठुलो सङ्कट देखिन्छ । कसैको चुलो बल्दैन । त्यसैले यत्तिका विधि कोरोना सङ्क्रमित एकै ठाउँमा देखियो भेटियो सरकार बेलैमा ध्यान देऊ, यही भुल्के गाउँबाट कोरोनाको नियन्त्रण गरौँ । गाउँ सिल भएको हप्ता दिन बिती सक्यो । जति नै हुने खानेलाई पनि अव समस्या देखिन थालेको छ ।

त्यसैले सङ्घीय सरकार र प्रदेश सरकारको ध्यान भुल्केमा जानुपर्छ । साथै संचारकर्मी साथीहरूले जसरी यहाँको बारेमा जानकारी लिनुहुन्छ त्यसै गरी राज्यको ध्यान केन्द्रित पनि गराउनुहोस् भन्न चाहन्छु । नेपाल पत्रकार महासङ्घले यसबारेमा राज्यको ध्यान केन्द्रित गराउनुपर्छ । भुल्केको अवस्था दिनानुदिन बिग्रिँदै गएको छ ।

-यो सामाग्री पुर्वतारा साप्ताहिकका पत्रकार यदु ढकाल सँग कुराकानीको आधारमा तयार पारिएको हो । पत्रकार ढकालको घर त्रियुगा नगरपालिका ३ भुल्केमै हो । उनी पनि एक साता देखि घर देखि बाहिर निस्किएका छैनन् । तस्बिरहरू उदयपुरका पत्रकार भोटराज राईले खिचेका हुन् ।