धरान : काठमाडौँबाट मानिस ल्याउँदा जोखिम हुने भन्दै राजनीतिक दलहरूले सुझाव दिए पछि लकडाउनमा काठमाडौँमा रोकिएका धरानबासी ल्याउन रोक्ने निर्णय धरान उपमहानगरपालिकाको सर्वदलीय बैठकले गरेको छ ।

धरान त्यसै पनि छिमेकी जिल्लाहरू उदयपुर र भोजपुरका कारण कोरोनाको जोखिम बढेकोले धरानमा आउजाउ गर्ने मानिस रोकिनुपर्ने धरान उपमहानगरपालिकालाई राजनीतिक दलका नेताहरूले सुझाव दिएपछि आज काठमाडौँबाट हिँडेका बाहेक अरूलाई नल्याउने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

काठमाडौँमा ‘अब बिचल्ली पर्ने धरानका विपन्न परिवारका मानिसहरू छैन भन्ने निष्कर्षमा पुग्यौँ, काठमाण्डौंमा व्यवस्थापन गर्ने साथीहरूलाई पनि गाह्रो भएकोले अब ल्याउने काम रोकिने मेयर राईले बताएका छन् । नेकपाका अध्यक्ष नारायण सुवेदीले बिच बाटोमा प्रहरीले मानिसहरू चढाइदिने र धरानमा आएपछि क्वारेन्टाइनमा पनि नराखिए पछि जोखिम हुने देखेर सबै दलले रोक्न सुझाव दिइएको बताए ।

धरानका राजनीतिक दलहरूको सहभागिता रहेको सर्वदलीय बैठकले धरानमा लकडाउनको बेलामा वितरण गरिँदै आएको राहत वितरण प्रभावकारी भएको निष्कर्ष निकालिएको छ । लकडाउनको बेला धरान उपमहानगरपालिकाले गरेको कामहरूको बारेमा धरान उपमहानगरपालिकाले दलका नेताहरूलाई रिपोर्टिङ गरेको थियो । राजनीतिक दलका नेताहरूले अहिले सम्म धरान उपमहानगरपालिकाले गर्दे आएका कामहरू प्रसंसानिय रहेको बताएका थिए ।