धरान : लकडाउनले समस्यामा परेका महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत पूर्वका ३८ जना विद्यार्थीहरुलाई क्याम्पसले घर सम्म पुर्याएको छ ।

स्ववियूको संयोजनमा धरानमा बसेर महेन्द्र तथा हात्तिसार क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई बसमार्फत घरसम्म पुर्याउने व्यवस्था गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसका स्ववियू सचिव दोर्ची शेर्पाको नेतृत्वमा मोरङ र झापाका विद्यार्थीहरुलाई घरसम्म पुर्याउने व्यवस्था गरिएको उक्त क्याम्पस प्रशासनले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट उत्पति भएको कोरोना भाइरस यतिबेला विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले पनि कोरोना भाइरसका कारण गत चैत ११ गतेबाट लकडाउनको घोषणा गरेको छ । एक महिना बितिसक्दा पनि लकडाउन नखुलेपछि धरानमा बसेर अध्ययन गर्ने समस्यामा परेका विद्यार्थीको माग अनुसार बसमार्फत उनीहरुको घरसम्म पुर्याउने व्यवस्था गरिएको स्ववियू सभापति सागर सरगम चेम्जोङले बताए ।

‘हामिले महेन्द्र क्याम्पसको आयोजना तथा हात्तिसार क्याम्पसको समन्वयमा विद्यार्थीहरुलाई उद्दार गर्ने कार्य गरेका हौ’ उनले भने, ‘डेरा गरी बस्ने विद्यार्थीलाई यसरी उद्दार गर्नु परेको यो पहिलो घटना हो ।’

लकडाउन अवधिभर धरानमा डेरा गरि बस्ने विद्यार्थीहरुलाई राहत वितरण तथा उद्दार गर्ने कार्य जारी रहने उनले बताए ।